कर बृद्धि विरुद्ध तमुवान—मगराँत संघर्ष समिति आन्दोलित हुदै

भदौं २९ गते पोखरामा विरोध प्रदर्शनको तयारी
पोखरा, २० भदौं

जनताको ढाड सेक्ने गरी कर र शुल्क बृद्धिको विरुद्ध तमुवान—मगराँत संघर्ष समितिले भदौ २९ गते शुक्रवार पोखरामा विरोध प्रदर्शन गर्नेभएको छ।

संघर्ष समितिको बुधवार पोखरामा सम्पन्न बैठकले पहिचानसहितको तमुवान—मगराँत प्रदेश नामाकरणसहित आदिवासी जनजातिका चाडपर्व विदा कटौती फिर्ता गर्नुपर्ने, यस प्रदेशमा तमु र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने आफ्ना मागका साथै कर र सेवा शुल्क सयौं गुणा बृद्धि गरिएकोमा पोखराको चिप्लेढुंगा विपीचोकबाट विरोध र्याली प्रदर्शन गर्ने निर्णय गरेको हो। र्यालीसहित पोखरा महानगरपालिकामा पुगेर महानगरका प्रमुखलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको संघर्ष समितिका संयोजक कर्म तमुले जानकारी दिनुभयो।

कर र सेवा शुल्कमा अप्रत्याशित वृद्धि गरी निर्वाचित जनप्रतिनीधिहरु तलव र भत्तामा रमाउदै जनताको बलिदानबाट प्राप्त संघीयतालाई नै असफल बनाउने समेतको षडयन्त्र गरिरहनु मात्रै नभएर जनतामाथि थोपरिएका भार टुलुटुलु हेरेर बस्न नसक्ने भएकाले संघर्ष समितिले कर र सेवा शुल्क बृद्धि विरुद्ध अभियान स्वरुप विरोध प्रदर्शन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो।

संघर्ष समिति र जागरण अभियानमा गठित वडा संघर्ष समितिका संयोजक तथा प्रतिनीधिहरुको संयुक्त बैठकले कर बृद्धि विरुद्ध बृहत प्रदर्शन गर्ने निर्णय गर्दै आम जनसमुदायलाई र्यालीमा सहभागीताका लागि आग्रह गरिएको संघर्ष समितिका सचिव आसबहादुर तमुले बताउनुभयो।

भदौ २९ गतेको विरोध प्रदर्शनको सुनवाई नगरे असहयोग आन्दोलन शुरु गर्ने संघर्ष समितिका प्रवक्ता हुमबहादुर तमुले भनाई छ।जनतामाथि कर थोपरेर तलब भत्तामा रमाउने जनप्रतिनिधीहरुका कुनै पनि कार्यक्रमका विरुद्ध असहयोग अभियान सञ्चालन गर्न नपरोस्, स्थानिय, प्रदेश र संघीय सरकारले बेलैमा सोच्न उहाँले आग्रह गर्नुभयो।

सम्पुर्ण संघ संस्था, समाजहरु व्यानरसहित प्रदर्शनमा सहभागी हुन संघर्ष समितिले आग्रह गरेको छ। दवावको सुनुवाई नगरे कर नतिरौं अभियानसहितका कार्यक्रमहरु तय गर्नुपर्ने अवस्था आउन सक्ने समितिले चेतावनी दिएको छ।

Advertisment