सेन्ट मेरिज सिङ्गिङ स्टार बनिन गुरुङ

पोखरा, ५ असोज
स्मृति गुरुङ सेन्ट मेरिज सिङ्गिङ स्टार घोषित भएकी छिन्। पोखरा १५ नयाँ गाँउस्थित सेन्ट मेरिज सेकेण्डरी स्कुलले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको गायन प्रतिभा प्रस्फुटन गराउन शुक्रवार आयोजित सेन्ट मेरिज सिङ्गिङ स्टार सिजन दुईको उपाधि जित्दै गुरुङ सन २०१८÷२०१८को सिङ्गिङ स्टार घोषित भएकी हुन ।
सय भन्दा बढी प्रतियोगीहरुबाट विभिन्न चरण पार गर्दै फाइनल प्रतिस्पर्धामा अन्य १० प्रतिस्पर्धीलाई पछि पार्दै स्मृति गुरुङले उपाधिसहित ट्रफी र संगीत प्रशिक्षणको अवसर प्राप्त गरिन्। उनलाई प्रमुख अतिथि बाबा राणाले ट्रफी र प्रमाण प्रदान गर्दै पुरस्कृत गरिन् विद्यालयकी संगीत प्रशिक्षक इतु जोजिजुले जेके म्युजिक सेन्टरमा एक महिनाको संगीत प्रशिक्षणका लागि अवसर प्रदान गरिन् ।
लाइभ प्रस्तुतिको पप चरणमा गुरुङले मुस्कुराई बोलको गीत प्रस्तुतीमै निर्णायक र दर्शक श्रोतको मन जितेकी थिइन भने आधुनिक तथा फिल्मी गीत चरणमा आशा भोस्लेले गाएको झझल्को लिएर बोलको गीत गाउदै उत्कृष्टता पुष्टि गरेकी थिइन्। झझल्को लिएर बोलको गीतमा निर्णायक विवेक श्रेष्ठले उठेरै सम्मान प्रदान गरेका थिए।
फाइनल प्रतिष्पर्धाको पप गीत राउण्डमा तृष्णा गुरुङको आजको बेला बोलको गीत र आधुनिक तथा फिल्मी गीत राउण्डमा कुन्ती मोक्तानको चोली राम्रो पाल्पाली ढाकाको बोलको गीत प्रस्तुत गरेकी सेली मानन्धर फष्ट रनरअप हुदै पुरष्कृत भइन् भने तृष्णा गुरुङको माया पिरती बोलको गीत र कुन्ती मोक्तानको डाली डालीमा बोलको गीत प्रस्तुत गर्दै सेकेण्ड रनर अपको उपाधि हात पार्दै पुरस्कृत भईन्।
चर्चित गायकहरु बिबेक श्रेष्ठ, विनोद बानिया र गितारिष्ट तथा अन्र्तराष्ट्रिय आर्चर असिम शेरचन निर्णायक रहेको सिङ्गिङ स्टारको फाइनल स्पर्धाको नतिजा सेन्ट मेरिजकी प्रिन्सिपल मार्गरेट म्यारीले घोषणा गरेकी थिइन्।
कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ गायिका बाबा राणाले संगीत नै जीवन हो भन्नुहुदै सेन्ट मेरिजले सिङ्गिङ स्टार आयोजना गरी संगीतको उच्च सम्मान गरेको बताउनुभयो। उहाँले संगीतको सम्मानसहित विद्यालयले विद्यार्थीको गायन प्रतिभाको खोजी गरेको भन्दै आभार व्यक्त गर्नुभएको । उहाँले स्वर्गीय आफ्ना पति सरोज गोपाल बज्राचार्यको स्मृतिमा छोडी जाने निष्ठुरीलाई गीत प्रस्तुत गर्दा कार्यक्रम कक्ष नै स्तब्ध बनेको थियो भने पुरानो गीत हसिली रसिली समेत प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा निर्णायकको तर्फबाट बोल्नु हुदै विवेक श्रेष्ठले आजकाली सिर्जनालाई व्यापारिकरण गरिएकोमा गुनासो गर्नुभयो। उहाँले आफुमा रहेको प्रतिभाको पहिचान गर्नु सक्नुपर्नेमा जोड दिनुहुदै गायनका लागि अभ्यास अनिवार्य रहेको बताउनुभयो। गायक श्रेष्ठले कन्दरा व्याण्डको हङकङ पोखरा बोलको गीत प्रस्तुतिले कार्यक्रममा मनोरञ्जन दिलाएका थिए।
यसरी नै निर्णायक समेत रहेका चर्चित गायक बिनोद बानियाको नारी जागरणमुलक नयाँ गीत पार्वती प्रस्तुतिले सबैलाई मनोरञ्जित बनाएको थियो।
विद्यालयका प्रिन्सिपल मार्गरेट म्यारीको अध्यक्षतामा भएको कार्यक्रममा सिङ्गिङ स्टारका ११ जना अन्तिम स्पर्धीहरुले सामुहिक गीत प्रस्तुति र सोनिया, आकृति गुरुङ, दिक्षा अधिकारीले एकल नृत्य प्रस्तुति गर्दै मनोरञ्जन प्रदान गरेका थिए।

Advertisment