अन्तर्राष्ट्रिय भोलेन्टरिओ अवार्डको नोमिनेसनमा नेपाली,भोट गर्न आग्रह

काठमाडौँ — इटालीमा प्रदान गरिने ‘अन्तर्राष्ट्रिय भोलेन्टरिओ अवार्ड २०१८’ का लागि नेपालबाट स्याङ्जाका ७९ वर्षीय मेजर दिलबहादुर गुरुङ नोमिनेसनमा परेका छन् । झन्डै दुई दशकदेखि समाजसेवामा सक्रिय दिलबहादुर ब्रिटिस आर्मीका मेजर थिए ।मेजर पदबाट अवकाश भएपछि दिलबहादुर समाजसेवातिर लागेका हुन् । उनले असल छिमेकी सहायता संघ ९बोनेस० को अध्यक्षमा रहेर सुकुम्बासीका छोराछोरीलाई निस्शुल्क शिक्षा प्रदान गरेका छन् । उनका अनुसार अहिले शिशु कक्षामा ५ सय जना र कक्षा १ देखि १२ कक्षासम्म ५ सय सुकुम्बासीका विद्यार्थीलाई निस्शुल्क शिक्षा प्रदान गरिएको छ । दक्षिण एशियाभरमा छानिएर उनी ७ जना समाजसेवीमध्ये नेपालको तर्फबाट नोमिनेसनमा परेका हुन् ।

यद्यपि नोमिनेसनमा परेकालाई भोटिङको आधारमा अवार्ड विजेता घोषणा गरिनेछ । मेजर दिलबहादुरलाई आर्मीको अवकाशपछि फूर्सदको समय खेरा फाल्न मन लागेन । स्याङ्जा निवासी दिलबहादुर सितला माध्यमिक विद्यालयमा व्यवस्थापन समिति अध्यक्षसमेत हुन् । उनको निरन्तर समाजप्रतिको योगदान देखेर अन्तर्राष्ट्रिय अवार्डका लागि इटालीको अन्तर्राष्ट्रिय संस्था ‘भिस्पे’ ले नोमिनेसन अवार्डका लागि सिफारिस गरेको थियो ।

विजेतालाई डिसेम्बरको पहिलो साता अवार्ड प्रदान गरिनेछ । दिलबहादुरले समाजसेवा गर्दा आफू सधै उर्जाशील भएको महसुस गर्ने बताए । ‘खाली हात बस्न मन लाग्दैन’, उनले भने, ‘समाजसेवामै आनन्दित भएको महसुस गर्छु ।’

कान्तिपुरबाट

Advertisment