गुरुङ फिल्म “ज्ञासजे” निर्माण गर्दै तृष्णा

 

भुपाल गुरुङ,
पोखरा, ३० चैत ।

लामो समय देखि फेसन डिजाइन गर्दै आएकी डिजाइनर तृष्णा गुरुङले अब फिल्म निर्माण गर्ने भएकी छिन ।

काठमाडौंको पानीपोखरीमा मृगतृष्णा फेसन हाउस सञ्चालन गर्दै आएकी डिजाइनर तृष्णाले “ज्ञासजे”(धन्यवाद)  नामक गुरुङ संस्कृतिमा आधारित फिल्म निर्माण गर्ने घोषणा गरेकी हुन् । शुक्रबार फेसन हाउसको १० औँ वार्षिकी र जन्मदिन संगै मनाएकी तृष्णाले गुरुङ संस्कृतिमा आधारित फिल्म निर्माण गर्ने घोषणा संगै अब फिल्मी क्षेत्रमा हात हाल्न लागेकी हुन् ।

उनले फिल्मको स्क्रिप्ट लेखन कार्य भइरहेको जानकारी दिइन् । अब छिट्टै सुटिङमा जाने तयारीमा रहेको फिल्मको स्टोरी भने गुरुङ फिल्मका निर्देशक सुवास गुरुङले लेखेका हुन । फिल्मलाई सुवासले नै निर्देशन गर्ने छन भने स्क्रिष्ट पनि उनले नै लेख्दै छन । स्क्रिप्टलाई अन्तिम रुप दिने काम भइरहेकाले कलाकार फाइनल भएको छैन । फिल्ममा गुरुङ र नेपाली दुवै भाषा प्रयोग गरिने बताएको छ ।

नेपाली सिने क्षेत्रका कलाकर्मीहरु बिच परिचित डिजाइनर तृष्णाले गुरुङ संस्कृतिमा आधारित फिल्मले गुरुङ समुदायको भाषा, संस्कार, संस्कृति जगेर्ना गर्न प्रेरित गर्ने दावी गरिन् । गुरुङ फिल्म निर्माणको अनुभव संगाले पछि नेपाली फिल्म निर्माणमा लाग्ने उनको योजना रहेको बताइन् । फिल्म निर्माण गर्न कै लागि उनले आफ्नै फेसन कम्पनीसँग प्रोडक्शन जोडेर मृगतृष्णा फेसन एण्ड प्रोडक्शन प्रा.लि बनाएकी छिन । मृगतृष्णा फेसन तथा प्रोडक्शन कम्पनीकै ब्यानरमा निर्माण हुने फिल्म लम्जुङका पर्यटकिय गाँउहरुमा छायाँङकन हुने छ ।

Advertisment