तरुण दलको गौरवमय इतिहास, वर्तमानको अभियान

जितजंग बस्नेत

जनअधिकारका लागि भएका संघर्षमा नेपाल तरुण दलको विशेष योगदान छ । नेपाली कांग्रेसका दर्जनौ भ्रातृ तथा शुभेच्छुक संगठनहरू छन्, तर नेपाल तरुण दल यस्तो संगठन हो– ‘जसका प्रत्येक सदस्यले नीलो बर्दी लगाएका हुन्छन् । एक हिसाबले यो अर्धसैनिक दस्ता जस्तै हो । नेपाली कांग्रेसले १०४ वर्षको जहानिया राणा शासनको अन्त्यका लागि २००७ सालको क्रान्तिका बेला जनमुक्ति सेना गठन गरेको थियो ।

करिब आठ हजारको संख्यामा रहेको जनमुक्ति सेनालाई २००७ सालको क्रान्ति सम्पन्न हुना साथ विघटन गरियो । जनमुक्ति सेना विघटनपछि तत्कालीन राजा त्रिभुवन र उनका छोरा महेन्द्रले नेपाली कांग्रेसमाथि आक्रमणको नीति लिए । विभिन्न नाममा कांग्रेस कार्यकर्तामाथि आक्रमण सुरु भएपछि बीपी कोइरालाले २०१० कात्तिक १० गते अर्धसैनिक दस्ताका रूपमा नेपाल तरुण दलको स्थापना गरेका हुन् । कार्यकर्तामाथि भएको अक्रमणको प्रतिकार गर्ने तथा नेपाली कांग्रेसबारे जनतालाई सुसूचित गराउने, नेपाली राजनीतिलाई गतिशील बनाउने, युवा सरोकारका मुद्दालाई मूर्तरूप दिने साथै नेपाली कांग्रेस पार्टीको राजनीतिलाई समाजवाद उन्मुख बनाउने ध्येयका साथ स्थापना भएको तरुण दल नेपाल महिला संघपछिको दोस्रो भ्रातृसंगठन हो । तर सुरुमै तत्कालीन दरबारले तरुण दललाई समाप्त गर्ने नीति लियो । २०१७ पुस १ गते तरुण दलको महाधिवेशनको उद्घाटन समारोहबाटै जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालगायतका नेताहरूलाई गिरफ्तार गरी तरुण दललाई छिन्नभिन्न बनाइयो । महाधिवेशन नै बिथोलेर सबै नेतालाई जेलमा हालिएपछि तरुण दल समाप्त जस्तै भयो । तर २०२७ सालमा जब नेविसंघको स्थापना भयो, तब तरुण दलले गर्दै आएको काम नेविसंघले गर्न थाल्यो ।

२०५२ सालदेखि फेरि प्रजातन्त्र विरोधीहरू सलबलाउन थाले । दरबार र माओवादीबाट प्रजातन्त्रविरुद्ध गम्भीर गतिविधि सुरु भएपछि प्रजातन्त्रका पक्षमा उभिन सक्ने बलियो युवाहरूको जमात तयार गर्नुपर्ने आवश्यकता पार्टीले महसुस ग¥यो । नेपालगन्जमा सम्पन्न महासमिति बैठकले बालकृष्ण खाँणलाई अध्यक्ष चयन गर्दै नेपाल तरुण दलको पुनस्र्थापना ग¥यो । एक महिनाभित्रै खाँणले केन्द्रीय समितिलाई पूर्णता दिए । दुई महिनाभित्र ७५ रै जिल्लामा कार्यसमिति तथा ६ महिनाभित्र सबै नगरपालिका र गाउँ विकास समितिमा कार्यसमिति गठन भयो ।

तरुण दलको स्थापनाको पहिलो अध्यक्ष सिंहध्वज खड्का थिए । पञ्चायत प्रवेश गरेका कारण उनलाई नेपाल तरुण दलले बिर्सेको छ । तर पञ्चायत प्रवेश गर्नुअघि उनले नेपाल तरुण दलका लागि उल्लेखनीय योगदान गरेका छन् । उनको नेतृत्वमा बनेको कमिटीले नेपाली कांग्रेसको संगठनलाई चलायमान बनाउने, पार्टीलाई समाजवादमा रूपान्तरण गर्नका लागि नेताहरूलाई दबाब सिर्जना गर्ने, जनतालाई प्रजातन्त्रका बारेमा सुसूचित गर्ने कार्यमा पार्टीलाई महत्वपूर्ण सहयोग गरेका थिए । नेपाली कांग्रेसको २०१२ सालमा वीरगञ्जमा भएको महाधिवेशनले आफ्नो संगठनलाई समाजवादी पार्टी घोषणा गर्नु र २०१५ सालमा भएको पहिलो निर्वाचनमा नेपाली कांग्रेसलाई दुई तिहाइ सिटसहित पहिलो पार्टी हुनुमा तरुण दलको पनि केही भूमिका थियो । २०१५ सालको आमनिर्वाचनपछि बनेको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला नेतृत्वको सरकारले अगाडि सारेको जनमुखी नीति र कार्यक्रमलाई जनतामा लैजाने माध्यम नेपाल तरुण दल हो भन्ने यथार्थता थाहा पाएपछि तत्कालीन राजा महेन्द्र शाह सशंंकित बनेका हुन् ।

२०५४ सालको स्थानीय निर्वाचनमा पनि नेपाली कांग्रेसले थोरै सिट मात्र हात पा-यो । नेपाली कांग्रेसमा फेरि एकपटक युवा शक्तिको आवश्यकता महसुस भयो र २०५४ कात्तिक ५, ६, ७ गते नेपालगञ्जमा भएको नेपाली कांग्रेसको महासमिति बैठकले नेपाल तरुण दलको पुनस्र्थापना गर्ने निर्णय ग¥यो । नेपाल तरुण दलको चौथो महाधिवेशनसम्म आइपुग्दा सिंहध्वज खड्का, बालकृष्ण खाँण, महादेव गुरुङ, विनोद कायस्थ, महेन्द्र यादव, उदयशमशेर राणा र जितजंग बस्नेत तरुण दलका अध्यक्ष भएका छन् ।

२०५६ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसलाई निर्वाचित गर्न होस् वा २०६२–०६३ को जनआन्दोलन सफल बनाउन होस्, नेपाल तरुण दलको महत्वपूर्ण भूमिका रहेको छ । २०६२–०६३ को जनआन्दोलन सफल बनाउन नेपाल तरुण दललगायत तत्कालीन अवस्थाका सात राजनीतिक पार्टीका धेरै युवाले कुर्बानी दिएका छन् । नेपाली राजनीतिमा नेपाली तरुण युवाहरू परिवर्तनका संवाहक हुन् भनी दावाका साथ भन्न सक्ने अवस्था नेपाली तरुण युवाहरूले आफ्नो गतिविधिबाट स्पष्ट पारेका छन् । माओवादीले जनयुद्धका नाममा नेपाल तरुण दलका सयौं नेता तथा कार्यकर्ताको हत्या गरेको थियो ।

तरुण दलको सान्दर्भिकता
२०६८ को जनगणनाअनुसार कुल जनसंख्याको ४०.३५ प्रतिशत युवाको संख्या छ । प्रत्येक वर्ष पाँच लाखभन्दा बढी श्रमबजारका लागि तयार भएर निस्कन्छन् । जसको १० प्रतिशतले मुस्किलले स्वदेशमा रोजगारी पाउने अवस्था छ । बाँकी ९० प्रतिशत विदेश जाने वा बेरोजगार बस्नुको विकल्प छैन । यसको अर्थ आजसम्म पनि देश विकास हुन सकेको छैन, रोजगारीका क्षेत्र बढोत्तरी भएको छैन भन्ने नै हो ।

प्रतिकूल अवस्थाका बाबजुद करिब तीन वर्षको यो अवधिमा वर्तमान केन्द्रीय समितिले विधान संशोधनसहित सांगठनिक संरचनालाई संविधानको मर्मअनुरूप तत्काल रूपान्तरण गर्ने, प्रतिस्पर्धी र सक्षम नेतृत्व विकासका लागि सवलीकरण गर्ने, सांगठनिक मूल्य र मान्यतामा आधारित अनुशासित संगठनको मान्यतालाई कडाईका साथ लागू गर्ने, विकास निर्माण र सामाजिक उत्तरदायित्वको सवालमा गतिशील बनाउनेलगायत थुप्रै काम गरेको छ ।

यसैगरी, निर्वाचनको समयमा तरुण दललाई बुथ रक्षकको रूपमा मात्र नहेरी मतदाताको घरदैलोमा सधैँ पुग्न सक्ने संगठन बनाउने, रोजगारीका उपाय र अवसरको पहिचानसहित सीपमूलक प्रशिक्षणका लागि सरकारको ध्यानाकर्षण गर्ने, सीपमूलक प्रशिक्षणका नाममा अल्पसीप मात्र दिने र राज्यको ढुकुटी सिध्याउने परिपाटीको अन्त्यका लागि सशक्त भूमिका निर्वाह गरी पूर्णसीपसहित गरिखान सक्ने दक्ष युवाशक्ति उत्पादनमा जोड दिने, सबै तहमा भएका भ्रष्टाचारविरुद्घ आवाज बुलन्द गर्ने, आफूले गल्ती गर्दा सजायको भागीदार हुन तयार हुने र पार्टी पंक्तिका नेताले गल्ती गर्दा औँला ठड्याउन सक्ने सशक्त तरुण नेतृत्वको विकास गर्नेलगायतका काममा वर्तमान कार्यसमिति दत्तचित्त भएर लागिरहेको छ ।
(बस्नेत तरुण दलका अध्यक्ष हुन् ।

स्राेत – तरुण खबर

Advertisment