काठमाडौं । नेपाली कांग्रेसले पार्टीका मातहत निकायका अधिवेशन र चौधौ महाधिवेशन सम्पन्न गर्नको लागि कार्यतालिका परिमार्जित गर्नुका साथै क्रियाशील सदस्यता छानविनका लागि समिति पनि गठन गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो। कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्मामा अनुसार पार्टी सभापतिले आबश्यक परामर्श गरी समितिका संयोजक र सदस्यहरुको मनोनयन गर्नेछन्।
बैठकले पार्टीका मातहत निकायका अधिवेशन र चौधौ महाधिवेशन सम्पन्न गर्नको लागि कार्यतालिका परिमार्जित गर्ने निर्णय गरेको छ। जस अनुसार
क) पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने अवधि– २०७६ माघ मसान्तभित्र ।
(ख) विधानले तोकेको कार्य्विधि बमोजिम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि – २०७६ फाल्गुण देखि २०७६ चैत मसान्तसम्म ।
(ग) प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने अवधि – २०७७ वैशाख मसान्तभित्र ।
(घ) नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अन्तिम अवधि –२०७७ जेठ १५ गतेभित्र ।
(ङ) उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ जेठ मसान्तभित्र ।
(च) क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी/पुनरावेदन दिइसक्नु पर्ने अवधि –२०७७ असार १५ गतेभित्र ।
(छ) उजुरी/पुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ साउन १५ गतेभित्र ।
(ज) नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरणको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई बुझाई सक्नु पर्ने अवधि –२०७७ साउन २५ गतेभित्र ।
(झ) केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि –२०७७ साउन मसान्तभित्र ।
यसैगरी पार्टीका तल्लो तहको अधिबेशको कार्यतालिका पनि परिमार्जन गरेको छ। जस अनुसार
(क) गाउँ/नगर वडा अधिवेशन– २०७७ कात्तिक १६ गते
(ख) गाउँ/नगरपालिका अधिवेशन– २०७७ कात्तिक १८ गते
(ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ कात्तिक २१ गते
(घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ कात्तिक २३ गते
(ङ) एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन –२०७७ कात्तिक २५ गते
(च) प्रदेश अधिवेशन– २०७७ मंसिर २९ गते
(छ) केन्द्रीय महाधिवेशन ः२०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौं ।
सोमबारको बैठकमा यसअघि बहिष्कार गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय र तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला पनि सहभागी थिए। गत पुस ११ गतेको बैठकले महाधिवेशनको मिति तय गरेपछि पौडेल र सटौला पक्षीय नेताहरुले बैठक बहिष्कार गर्दै आएका थिए।
गत बुधबार र शुक्रबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकमा सभापति देउवाले महाधिवेशनको मिति यथावत राखी अन्य विषय सच्याउन आफू तयार रहेको बताएपछि असन्तुष्ट समूह सोमबार बैठकमा उपस्थित भएको हो। सोमबारको बैठकले पार्टीको १४ औं महाधिवेशन २०७७ फागुन ७ १० सम्म काठमाडौंमा गर्ने पुस ११ गतको निर्णयलाई सर्बसम्मत पारित गरेको छ।
बैठकले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न विधान र नियमावलीमाथि थप छलफल गर्न यहि माघ २३ गते केन्द्रीय कार्यसमिति बैठक बोलाउने पनि निर्णय गरेको छ।