गण्डकीमा युरो मापदण्डका नयाँ गाडीबाट ट्रायल सुरु

पोखरा, १६ माघ
गण्डकी प्रदेशमा ड्याटसन कम्पनीको युरो मापदण्डका नयाँ गाडीबाट ट्रायल दिने व्यवस्था बिहीबारदेखि सुरु भएको छ ।
सनराइज ड्राइभिङ स्कुलअन्तर्गत कुसुम सप्लायर्स र यातायात व्यवस्था कार्यालय गण्डकीको सहकार्यमा पूर्व सम्झौताबमोजिम नयाँ व्यवस्थापनमा ट्रायल सुरु भएको हो ।
यसअघि कारको सवारीचालक अनुमतिपत्र लिन ३ सय रुपैयाँ लाग्नेमा नयाँ व्यवस्थापनसँगै २४ रुपैयाँमै ट्रायल दिन पाइनेछ । भारी छुटले धेरैलाई राहत मिल्ने देखिन्छ ।
सवारीचालक अनुमतिपत्र गण्डकी प्रदेशका शाखा अधिकृत भरतराज काफ्ले, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका नायब उपरीक्षक टेकबहादुर कार्की, सनराइज ड्राइभिङ स्कुलका अध्यक्ष वसन्त भट्टचन र दीपक गुरुङले संयुक्त रुपमा नयाँ व्यवस्थापन सहितको ट्रायल दिने गाडीको रिबन काटेर उद्घाटन गरेका हुन् ।
यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र गण्डकी प्रदेशका शाखा अधिकृत भरतराज काफ्लेले नयाँ मोडलका गाडीले ट्रायल दिँदा केही समय पास हुने, रिजल्ट राम्रो नआए पनि दीर्घकालीन रुपमा राम्रो प्रभाव पर्ने बताए । ‘गण्डकीभित्र कारको सवारीचालक अनुमतिपत्र लिन अबदेखि ड्याटसन २०१९ मोडेलकै गाडी सम्झौता भएको र यही गाडीमै ट्रायल हुनेछ । पुराना मोडेलका गाडीमा अबदेखि ट्रायल हुने छैन,’ उनले भने । नयाँ गाडीबाट सक्षम भएर लाइसेन्स लिन सक्ने जनशक्ति तयार पार्नुपर्ने अहिलेको आवश्यकता भएको बताए ।
दोस्रो पटक सवारीचालक अनुमतिपत्रका लागि ट्रायल दिन आएका पोखरा–१३ का राजु ढकालले सुविधासम्पन्न गाडीले सस्तो मूल्यमा ट्रायल दिन पाउँदा खुसी लागेको बताए । ‘पुरानोले ट्रायल दिँदा चिप्लिने, साइड लाइड नबल्ने, स्टार्ट बन्द हुने, ब्रेक नलाग्ने जस्ता समस्या थियो । अब सस्तो मूल्यमै अझ सहज हुने भयो, उनले भने ।
सनराइज ड्राइभिङ स्कुल सञ्चालक लेखनाथ सुवेदीका अनुसार ट्रायलमा नयाँ मोडेलका गाडीहरु सुरु भएसँगै परीक्षार्थीले घुमाउँरो पाराबाट लाइसेन्स लिन नलागी आफैं सक्षम भएर लाइसेन्स लिने सक्ने छन् । अबदेखि पुराना, मिती नाघेका, मापदण्डविपरीतका गाडीमा नभई युरो मापदण्डका गाडीमै सिक्ने र ट्रायल दिने व्यवस्थाले सबैलाई सहज हुने विश्वास लिएको उनले बताए ।
सनराइज ड्राइभिङ स्कुलको रंगशाला गेटअघि, फूलबारी, बिरौटा शाखामा ट्रायल दिने मोडेलकै नयाँ गाडीहरु उपलब्ध भएकाले सो गाडीबारे ट्रायल पूर्व सबैलाई जानकारी लिन र सिक्न आउन अनुरोध गरेका छन् ।

Advertisment