तिब्बतले दिएको स्वास्थ्य सामग्री भित्रियो नेपाल

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई दिएको कोरोना भाइरसविरुद्ध लड्ने स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ ।
चिनियाँ पक्षले बुधबार तातोपानीमा स्वास्थ्य मन्त्रालयका वरिष्ठ विशेषज्ञ रोशन पोख्रेललाई उक्त सामग्री हस्तान्तरण गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । उक्त सामग्री करिब सवा आठ करोड रुपैयाँभन्दा बढीको रहेको भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

तिब्बतले दिएको सामग्रीमा १० हजार थान एन–९५ मास्क, १० हजार थान पिपिई, एक हजार थान इन्फ्रारेड थर्मोमिटर, पिसिआर मेसिन दुई थान, २० हजार थान टेस्टिङ किट र ५० थान वेट वाइप लगायत छ ।

उक्त सामग्री तिब्बत सरकारको विदेश विभाग प्रमुखले गत चैत २८ गते नेपाली महावाणिज्यदूत गोविन्द कार्कीलाई ल्हासामा हस्तान्तरण गरेकी थिइन् ।

काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले सार्वजनिक गरेको विज्ञप्तिअनुसार यो चरणमा नेपाल ल्याइएको स्वास्थ्य सामग्री अनुदानमा पठाइएको हो ।

Advertisment