चीनले कोरोना संक्रमित विरामीको उपचारमा निकाल्याे औषधी

एजेन्सी । विश्वब्यापी महामारीको रुपमा दुनियाँलाई आक्रान्त पारिरहेको कोरोना भाईरसको औषधी पत्ता लगाउन थुप्रै मुलुकका वैज्ञानिकहरु प्रयासरत छन ।

अहिलेसम्म अचुक औषधी पत्ता लागिसकेको छैन । यद्यपी कोरोना संक्रमित विरामीहरुको उपचार भने विश्वभरका अस्पतालहरुमा चलिरहेका छन ।

ती सबै उपचारहरु प्रयोगात्मक प्रकृतिका हुन । अर्थात विरामीमा देखिने लक्षण र समस्याका आधारमा प्रयोगात्मक शैलीको उपचार चलिरहेको छ ।

यस्तै सन्दर्भमा चीनका चिकित्सकहरुले कोरोना संक्रमणका गम्भीर विरामीहरुलाई एन्टीबडीजबाट उपचार गर्ने क्रममा टोसिलिजुमाब नामक औषधी उपयोगी सावित भएको पाएका छन ।

चीनको अनहुई प्रान्तमा २५ देखि ८८ बर्ष उमेरका २१ जना विरामीहरुमा गरिएको प्रयोगमा एन्टीबडीसंगै टोसिलिजुमाब नामक औषधी चलाउँदा प्रभावकारी देखिएको हो ।

यो औषधीको प्रयोगबाट पहिलो दिनमै सबै विरामीहरुको तापक्रममा सुधार आयो । योसंगै विरामीहरुको स्वास्थ्य अवस्था सुध्रियो ।
पाँच दिनपछि १५ जना विरामीमा सास फेर्न गारो हुने समस्यामा कमी आयो । यसरी १० देखि ३१ दिनमा सबै विरामीहरु निको भए ।

सानो स्तरको यो क्लिनिकल प्रयोगबाट शत प्रतिशत ढुक्क हुने अवस्था छैन । यद्यपी यो प्रयोगले कोरोना संक्रमित विरामीहरुको उपचार क्षेत्रमा केही आशा भने जगाएको छ ।

Advertisment