लाेकतन्त्र र राष्टियतालाई बन्धक बनाउँन पाइदैनः निधि

काठमाडौं, ९ जेठ
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कोरोना संक्रमणका नाममा लोकतन्त्र र राष्टियतालाई कसैले बन्धक बनाउन नपाउने बताएका छन्।
स्कुल अफ डेमोक्रेसीद्धारा शुक्रबार आयोजित प्रदेश नं १ स्तरीय जुम कन्फरेन्सलाई सम्बोधन गर्दै उपसभापति निधिले लोकतन्त्रलाई माइनस गरेर राष्टियताको जगेर्ना हुनै नसक्ने बताए। ओली सरकारका कारण राष्टियता र भौगोलिक अखण्डतामाथि नै खतरा परेको उनको भनाई थियो।
प्रधानमन्त्री केपी ओलीले संसदमा व्यक्त गरेको अभिव्यक्ति अपरिपक्व, अनुत्तरदायी र उत्तेजक भएको भन्दै उपसभापति निधिले यस्ता अभिव्यक्तिले राष्टियता र लोकतन्त्रलाई थप खतरातर्फ धकेलेको टिप्पणी गरे। प्रधानमन्त्रीका यस्ता अभिव्यक्तिले नेपालको भूमि अतिक्रमण भएको बिषयलाई अन्यत्र मोड्ने काम गरेको उनले उल्लेख गरे।
चीन र भारतबीच व्यापार सम्झौतापछि मानसरोवरको धार्मिक पर्यटनसमेतलाई लक्षित गरी लिम्पियाधुराको बाटो बनाइएको कुरा सबैका सामु स्पष्ट रहेको भन्दै उपसभापति निधिले अतिक्रमित नेपाली भूमि फिर्ता गराउनका लागि भारत र चीन दुबै मुलुकसँग उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्नुपर्नेमाा जोड दिए। नक्सामा आएर मात्र नेपाली भूमि फिर्ता नहुने भएकोले बार्ताद्धारा समस्याको हल गर्नुपर्ने उनको भनाई थियो।
जुम कन्फरेन्सलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पहिलो चरणको लकडाउनमा आफ्नो सबै ध्यान कोरोना नियन्त्रणमा केन्द्रित गर्नुपर्नेमा सरकारको ध्यान स्वास्थ्य सामग्री खरिदको भ्रष्टाचारमा केन्द्रित भएको बताए। उनले कोरोनाका कारण बिश्वसमुदाय आक्रान्त भएका बेला गुणस्तरहीन सामग्री खरिद गरेर सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको उल्लेख गरे। उनले पीसीआरको व्यापक परीक्षमा जोड दिए।
कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आदम्बेले कांग्रेसले जितेका स्थानीय तहमा सरकारले बजेट बिनियोजमा सौतने व्यबहार गरेको तथा दुःख दिने नियतले अनाबश्यक बिबाद सिर्जना गर्ने काम गरेको भन्दै सरकारको आलोचना गरे। उनले बिदेशबाट आएकाहरुको स्थानीय तहले सीप पहिचान गरी उनीहरुलाई कृषिकर्ममा लाग्न प्रेरित गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमममा अर्का केन्द्रीय सदस्यद्धय डा. मिनेन्द्र रिजाल र मीन बिश्वकर्मा, कांग्रेसका युवा नेता रामहरि खतिवडा, प्रदेश नं १ कांग्रेस संसदीय दलका सचेतक राजीव कोइराला, नेविसंघका अध्यक्ष राजीव ढुंगाना, सांसदहरु, प्रदेश सभा सदस्यहरु, गाउँपालिका अध्यक्ष, नगरपालिका प्रमुख तथा भातृसंस्थाको प्रमुखहरुको सहभागिता रहेको थियो। कार्यक्रममा स्कुल अफ डेमोक्रेसीका अध्यक्ष एवं कांग्रेस युवा नेता नैनसिं महरले ६ वटा प्रदेशमा जुम कम्फरेन्स सम्पन्न भइसकेको जानकारी गराउँदै शनिबार गण्डकी प्रदेशको कार्यक्रम सम्पन्न भएपछि पार्टीमा लिखित प्रतिबेदन पेश गर्ने बताए ।

Advertisment