दमदमे,सिधाने,कुज्बीडांडा र मकानपुरका समाजसेबीहरु बाट घरमै नगद र खाधान्न

पोखरा , २८ जेठ ।
पंचासे हर्पन डाँडा समाज युकेले कोरोना महामारीका कारण समस्यामा परेकाहरुको लागि दोश्रो चरणमा राहत स्वरुप नगद र खाधान्न सामाग्री वितरण गरेको छ । कास्कीको पोखरा महानगरपालिका -२३ मा पर्ने पर्यटकीय स्थल पंचासे डांडा नजिकका दमदमे , सिधाने , कुद्बीडाँडा र मकानपुर गाउंबाट बेलायतमा गएर विभिन्न पेशा र व्यवसायमा संलग्न हरुले झण्डै एक दशक अगाडी समाजको स्थापना गरेका थिए !
समाजले पहिलो चरणमा उल्लिखित चारवटा गाउंमा पुगेर ८० परिवारलाई करिव २ लाख ४० हजारको खाधान्न सामाग्री राहत स्वरुप वितरण गरेकोमा दोश्रो चरणमा ति गाउंबाट पोखरा आएर बसोबास गर्ने तर कोरोनाका कारण समस्यामा परेका १७ परिवारलाई करिब ९० हज़ार रुपैया बराबरको नगद र खाधान्न सामाग्री वितरण गरिएको थियो । राहत वितरणमा समाजका महासचिव प्रकाश गुरुडं र समाजका सदस्यहरु धर्मवती गुरुङ,संगीना गुरुङ,मन देवी गुरुङ सहित पोखराका निर्माण व्यवसायी ठाकुर गुरुङ र अग्रज पत्रकार एवं स्कुल अफ डेमोक्रेसीका गण्डकी प्रदेश समितिका अध्यक्ष गंगाधर पराजुली समेत सहभागी थिए ! समाजका महासचिव र सदस्यहरु चारै जना लकडाउनका कारण बेलायत फर्किन नपाएपछि पोखरामा बसेर राहत वितरण लगायतका सामाजिक काममा जुटिरहेका छन ।
मंगलवार पनि टोलीले पोखराको छोरेपाटन , पृथ्वीचोक , लालीगुरांस टोल , लेकसाईड , विरौटा , लामाचौर लगायतका क्षेत्रमा गाउंबाट आएर बसोबास गर्दै आएका दलित , विपन्न र असहाय परिवारलाई घरघरमै पुगेर राहत वितरण गरिएको थियो !
त्यस क्रममा पोखराको बिरौटमा भाडामा बस्दै गरेकी चीज कुमारी गुरुङलाई नगद ३० हज़ार रुपैया र खाधान्न सामाग्री वितरण गरिएको थियो । आफ्नो श्रीमानको रहस्यमय मृत्यु पछि होटलमा सामान्य काम गरेर चार जना छोरीहरु सहित बस्दै आएकी उनले श्रीमानको मृत्युपछि घरपरिवारबाट समेत कुनै सहयोग नपाएको भन्दै दुखेसो गरेकी थिईन ।
यसै गरि पृथ्वीचोक क्षेत्रमा सुकुम्बासी टोलमा बस्ने जौमाया गुरुङ लाई नगद १० हज़ार रुपैयां सहित खाधान्न सामाग्री वितरण गरिएको थियो ।
लालीगुरास टोलमा बस्ने वृद्धा मिन कुमारी घलेका श्रीमान ४० वर्ष अगाडी बाट सम्पर्क विहिन ( वेपत्ता) रहेको भएपनि एकल महिलाले पाउने भत्ता पाउन नसकेको र उनको उमेर ७० वर्ष पुगिसकेको भएपनि नागरिकतामा भने कम उमेर ( ५९ वर्ष ) मात्र उल्लेख गरिएको कारण सरकारबाट उपलब्ध हुने वृद्ध भत्ताबाट समेत उनि वन्चित रहेकी छन । उनको छोरा बुहारीबाट एक छोरीको जन्म भएपछि छोराको मृत्यु भएको र बुहारीले पनि घर छोडेर अन्यत्र हिंडेपछि वृद्ध हजुरआमा र नातिनी सलिना घले मात्र परिवारमा छन ! सलिनाले कक्षा १२ उत्तिर्ण गरेको भएपनि आर्थिक अभावका कारण पढाईलाई निरन्तरता दिन नसकेको बताएपछि टोलीले उनको अध्ययनका लागि सहयोग गर्न पहल गर्ने आश्वासन समेत दिएको थियो ।
समाजले आफ्नो गाउं क्षेत्रबाट पोखरा आएर बसेका हरुको वास्तविक समस्याबारेमा जानकारी लिने अनि राहत पाउनेहरुलाई गर्मी र वर्षाका कारण समस्या नहोस भन्ने उद्देश्यले उनिहरु बस्ने ठाउंमा नै राहत सामाग्री पुर्याएको समाजका महासचिव प्रकाश गुरुडंले जानकारी दिए ।

Advertisment