वीपी माथि भएका केही राजनीतिक अन्याय !

सन्दर्भ : वीपी स्मृति दिवस (साउन ६ गते)

वीपी कोइराला सधै प्रजातन्त्र र जनताको न्यायको पक्षमा लड्नभयो । तर धेरै राजनीतिक अन्याय पनि सहनुभयो । वीपीको स्मृति दिवसका अवसरमा उहाँमाथि भएका राजनीतिक अन्यायलाई यसरी केलाउन मन लाग्यो ।

१. प्रधानमन्त्री कुर्सीबाट सिधै कारावास
२०१७ साल पुस १ गते प्रधानमन्त्रीको कुर्सीबाट सिधै कारवास पुग्नुभयो वीपी । अविचलित सम्वैधानिक राजतन्त्रको वकालत गर्ने वीपी त्यसवापत आठ वर्ष आस्थाको बन्दीका रुपमा सिंहदरबार हुँदै सुन्दरीजलमा विताउनुभयो । राजा महेन्द्रले दुई तिहाई बहुमतको निर्वाचित प्रम वीपीलाई बन्दीका रुपमा राखे । तर वीपीले जीवनभर सम्बैधानिक राजतन्त्रको वकालत गर्नुभयो । वीपीले आफनो स्मरणमा उल्लेख गर्नुभए अनुसार मन परेकी केटीसित विवाह गर्न नपाएको झोकमा राजिनामा बोकेर युवराज महेन्द्र वीपीको घरमा पुगेका थिए र यसलाई चाडो टुंगो लगाइदिनु प¥यो भनेर वीपीलाई जिम्मा नै दिएछन् । वीपीले नै त्रिभुवनलाई यसमा राजी गराए । तर राजा भएपछि महेन्द्रले ठूलो राजनीतिक अन्याय गरे वीपी माथि । वीपीले भने राजासित घाँटी जोडेका नेताका रुपमा परिचय बनाउनुभयो ।

२. आफै खाना पकाउने माग पनि पूरा भएन :
वीपीले राखेको सबैभन्दा ठूलो माग भनेको प्रजातन्त्र पुनस्थापना हो । वीपीको कार्यकालमा त त्यो पूरा भएन नै जेलमा आफै खान पकाएर खान पाउ भन्ने माग पनि वीपीको पूरा भएन । जेलको अस्वस्थ्थकर वातावरण र अप्रर्याप्त खुराकीले उहाँको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको थियो । त्यस कुरालाई ध्यानमा राखेर वीपीले राख्नुभएको मामुली मागसम्म पनि सरकारले पूरा गरेन ।

३. वीपीको निधनमा विदा काटियो :
वीपीको स्वास्थ्य निकै कमजोर भइसकेको थियो र चिकित्सकले उहाँ धेरै दिन नबाच्ने संकेत गरेका थिए । वीपीको निधन हुन सक्ने आकलन गर्दै पञ्चहरुले चलाखीपूर्ण राजनीतिक निर्णय गरे । पूर्वप्रमको निधन हुँदा विदा दिने नियम कायमै राखे वीपीको निधनमा विदा दिनुपर्ने भएपछि त्यो विदा नै कटौती गरिदिए । २०३९ साल साउन छ गते वीपीको निधन भयो तर विदा दिइएन । यस विषयमा मुख्य भूमिका सूर्यबहादुर थापाले खेलेको आरोप लाग्यो । गोरखापत्र दैनिकका लागि ‘वीपीसितको थापाको सम्बन्ध’ लेख्ने क्रममा मैले २०७१ भदौँ पहिलो साता थापालाई उहाँकै निजी निवासमा भेटेको थिए । थापाले आफनो पहलमा सार्वजनिक विदा कटौती गरिएको आरोप अस्वीकार गर्नुभयो र आफू यसमा अनविज्ञता जनाउनुभयो ।

४. महेन्द्रले वीपीको नागरिकता खोस्न खोजे :
प्रजातन्त्रको पुनस्थापनाका लागि २०२७ सालतिर वीपीले सशस्त्र आन्दोलनका कुरा गर्न थालेपछि राजा महेन्द्रले वीपीको नागरिकता झिक्ने विचार गरी प्रथममन्त्री गहेन्द्रबहादुर राजभण्डारीसित कुरा गरे । राजभण्डारीले तत्कालीन एटर्नी जनरल शम्भुप्रसाद ज्ञवालीसित यस विषयमा कुरा गरेछन् । ज्ञवालीले यो वीपीको राजनीतिक धक्की हो । नागरिकता खोस्नु अराजनीतिक कार्य हुन्छ त्यसैले यसलाई राजनीतिक तवरबाट निकास खोजौँ भनेपछि महेन्द्रपछि हटेको सन्दर्भ प्रा.राजेश गौतमले नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली काँग्रेस (भाग ४) पुस्तकमा उल्लेख गर्नुभएको छ ।

५. उपचारका लागि विदेश जान भीसा दिइएन
२०२५ सालमा सुन्दरीजलबाट छुटेपछि उपचारको क्रममा भारत पुगेका वीपीलाई अस्पतालमै पुगेर सोललिष्ट इन्टरनेशनलको सेक्र्रेटरी जनरल ह्यान्स ग्यानचेकले युरोपमा उपचार गर्न सुझाउँदै सहयोग गर्ने वचन वीपीलाई दिएछन् । त्यसपछि वीपीले राहदानीका लागि परराष्ट्रमा आवेदन दिनुभयो । तर त्यसका लागि गिरिजाप्रसाद कोइराला र तारणीप्रसाद कोइरालामार्फत सरकारसित लविङ पनि गर्नुभयो । तर दरबारले वीपीको आग्रह स्वीकार गरेर भीसा दिएन । त्यसपछि भारतले अन्तर्राष्ट्रिय प्रचलन अनुसार महत्वपूर्ण राजनीतिक व्यक्तिलाई जेनेभा कम्भेन्सनको आधारमा मानवताका नाताले स्वास्थ्य रक्षाका लागि विशेष राहदानी उपलब्ध गरायो र वीपी उपचारका लागि २०२७ साल साउन २८ गते युरोप जानुभयो । वीपीको नागरिकता त खोजिएन र विदेशमा उपचार गर्न जान भीसा दिन भने रोक लगाइयो ।

सामग्री : पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापासित २०७१ साल भदौँमा गरिएको कुराकानी ।
प्रा.राजेश गौतमद्वारा लिखित नेपालको राजनीतिक इतिहास तथा नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस पुस्तक भाग ४
विभिन्न दस्तावेज तथा पुराना सामग्रीहरू ।

Advertisment