नियमविपरीत सेयर कारोबार गर्नेलाई जरिवाना

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हिमालयन डिस्टिलरी लि.की पूर्वसञ्चालक रहिसा शाह श्रेष्ठ र धितोपत्र ब्रोकर श्री इन्भेस्टमेन्ट म्यानेजमेन्टलाई कारबाही गरेको छ । नियमविपरीत कारोबार गरेको भन्दै श्रेष्ठ र ग्राहकको विवरण सही नराखेको भन्दै श्री इन्भेस्टमेन्ट म्यानेजमेन्टलाई कारबाही गरिएको सेबोनले जनाएको छ ।

श्रेष्ठले सूचीकृत संगठित संस्थाको संस्थागत सुशासनसम्बन्धी निर्देशिका–०७४ को व्यवस्थाविपरीत सञ्चालक पदबाट हटेको एक वर्ष नपुग्दै हिमालयन डिस्टिलरीको सेयर बिक्री गरेको भन्दै सेबोनले ७५ हजार रुपैयाँ जरिवाना गरेको हो । निर्देशिकामा सञ्चालकले पदबाट हटेको एक वर्ष नपुग्दै सो कम्पनीको सेयर कारोबार गर्न नपाउने व्यवस्था छ ।
सेयर कारोबारमा संलग्न धितोपत्र ब्रोकर श्री इन्भेस्टमेन्ट म्यानेजमेन्टलाई नियमबमोजिम ग्राहकको पूर्ण विवरणसहितको अभिलेख नराखेकाले १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको विज्ञप्तिमा उल्लेख छ । दोस्रो बजारको प्रणालीमा बिक्री आदेश प्रविष्ट गर्नुअघि उक्त कारोबार धितोपत्रसम्बन्धी ऐन, नियम, विनियम तथा निर्देशनबमोजिम गर्न मिल्ने नमिल्ने सम्बन्धमा आवश्यक सावधानी अपनाएको नदेखिएको सन्दर्भमा बोर्डले आवश्यक छानबिन गरी कारबाही गर्ने निर्णय गरेको बताइएको छ । सूचीकृत संगठित संस्थाका सञ्चालकलाई गरिएको यो पहिलो कारबाही हो ।

#कान्तिपुर बाट

Advertisment