घरेलु श्रमिक बालबालिकालाई शैक्षिक सामाग्री वितरण

गण्डकी, १३ असोज (रासस)
पोखरा महानगरपालिका वडा नं. १७ पार्दीस्थित जेष्ठनागरिक बैदिक सनातन (वेदान्त दर्शन) सत्संग स्थलमा अध्ययनरत घरेलु श्रमिक बालबालिलाई लायन्स क्लव अफ पोखरा टुरिजमले शैक्षिक सामाग्री वितरण गरेको छ ।

साँझ विहान अर्काको घरमा काम गर्दै आएका तथा पोखराका विभिन्न वर्कसप कार्यरत श्रमिकलाई शिक्षा प्रदान गर्ने उदेश्यका साथ सञ्चालित सो संस्थामा अध्ययनरत ३० जना बालबालिकालाई आज आयोजित एक समारोहका बीच आवश्यक शैक्षिक सामाग्री वितरण गरिएको हो ।

लायन्स क्लवका डिष्ट्रिक गभर्नर मान बहादुर रोकाहाले श्रमिक बालकलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै लायन्सले विशेष गरि पछिल्लो समय वालवालिका र जेष्ठनागरिकको क्षेत्रमा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

क्लवका अध्यक्ष निरज पन्तका अनुसार सत्संग भवनका लागि आवश्यक कार्पेट, शैक्षिक सामाग्री र जेष्ठनागरिकको स्वास्थ्य परिक्षणका साथै निशुल्क औषधि वितरणसंगै एक लाख रुपैया भन्दा बढीको सहयोग गरेको हो ।

जेष्ठनागरिक बैदिक सनातन (वेदान्त दर्शन) सत्संगका अध्यक्ष टोपराज ढुङ्गानाले घर, होटल, रेष्टुरेन्ट तथा वर्कसपहरुमा श्रम गर्ने श्रमिक बालबालिको शिक्षा दिक्षा एवम् जेष्ठनागरिकको लागि दिवा सेवा केन्द्र सञ्चालन गर्दै आएको बताउनुभयो ।

सो संस्थामा हाल ३० जना श्रमिक बालबालिका अध्ययनरत रहेका छन् भने २५ जना भन्दा भढी जेष्ठनागरिकले दिवा सेवा लिइरहेको बताउँदै उहाँले संस्थाको सकृयतामा सार्वजनिक जग्गामा तीन लाख रुपैयाको लागतमा ट्रष्ट भवन निर्माण गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा पोखरा १७ का वडा सदस्य शान्ता गुरुङ, चियरपर्सन जमुना गुरुङ राधीका थापा, सिता थापा, क्लवका निवर्तमान अध्यक्ष विनय थापा र सचिव सुजन श्रेष्ठ लगायतले सामाजिक सेवामा समर्पित लायन्स क्लवले समाजमा प्रशंसनीय कार्य गर्दै आएको धारणा राख्नुभयो ।

पोखरा उद्योग वाणिज्य संघद्धारा बालश्रम न्यूनिकरण कार्यक्रम अन्तर्गत श्रमिक तथा जोखिममा रहेका बालबालिकालाई पठनपाठन गराउने लक्ष्यका साथ शुरु गरिएको सो संस्थाले अक्षर चिनाउने र पायक पर्ने सरकारी विद्यालयमा भर्ना गरिदै उनीहरुको पढाईलाई निरन्तरता दिंदै आएको छ । तस्वीर उपलव्ध छ ।

हरि बास्तोला/ रासस

Advertisment