कांग्रेसकाे ७६ जिल्लाका कृयाशिल बिवरण केन्द्रमा पुगेन, महाधिवेशन प्रभावित हुने निश्चित !

काठमाडौं । नेपाली कांग्रेसले मंसीर मसान्तसम्म क्रियाशील सदस्यता विवरण पठाउन ७७ वटै जिल्ला समितिलाई परिपत्र गरेपनि तोकिएको अवधिमा एक जिल्लाको मात्रै विवरण प्राप्त भएको छ।

महाविधेशन तयारीमा जुटेको नेपाली कांग्रेसले मंसीर मसान्तभित्र क्रियाशील सदस्यताको विवरण पठाउन कात्तिक अन्तिमतिर सबै, ७७ वटै जिल्ला समितिलाई पत्राचार गर्‍यो। तर, तोकिएको अवधि घर्कीसक्दा ७६ वटा जिल्लाले विवरण पठाउन सकेनन्। अर्घाखाँची जिल्लाले मात्र केन्द्रको निर्देशन अनुसार विवरण पठाएको छ।
केन्द्रीय कार्यालयले सफ्टवयेरमा अपलोड गर्नुपर्ने र सफ्टवयेर बनाउन केही ढिला भएका कारण समयमै प्राप्त हुन नसकेको बताएको छ भने जिल्ला सभापतिहरूले पछिल्लो पटक पठाइएको फर्म्याट २९ मंसीरको विरोध प्रदर्शन कार्यक्रम लगायतलाई कारण देखाएका छन्। 
मंसीर मसान्तभित्र विवरण पठाउन भनिसकेपछि मात्रै सफ्टवयेरमा अपलोड गर्न केन्द्रले भनेको र क्रियाशील सदस्यको विस्तृत विवरण पनि पहिलेको भन्दा थप भएकाले फेरि गर्नुपरेको कतिपय जिल्ला सभापतिहरूले बताएका छन्। 
तल्लो तहको अधिवेशन नतोक्दा समस्या
सफ्टवेयर र २९ मंसीरको कार्यक्रम मात्र होइन, तल्ला तहका अधिवेशन नतोकिनु पनि क्रियाशील सदस्यता विवरण केन्द्रमा पठाउन नसक्नुको कारण बनेको छ। 
कांग्रेस ताप्लेजुङका सभापति लीला बोखिम तल्ला तहहरूको अधिवेशनको मिति नतोकेका कारण नहतारिएको बताउँछिन्।
“केन्द्रीय महाधिवेशनको मिति अहिलेसम्म यथावत राखेपनि महाधिवेशन सर्ने निश्चित छ”, उनले भनिन्, “तल्लो तहको अधिवेशनको मिति तोकेको भए हामीले पठाउनैपर्थ्यो, पार्टी प्रवेश गरेकाहरूको बारेमा र अन्य थोरै काम सक्न बाँकी भएपनि पठाएका छैनौं।  प्रायः सबै जिल्लाको अवस्था यही होला जस्तो लाग्छ।”
सिन्धुली कांग्रेसका सभापति उज्जवलप्रसाद बराल १६ मंसीरमा पठाइएको फर्म्याट अनुसार केही विवरण अपुग भएकाले मिलाइरहेको बताउँछन्। उनका अनुसार मंसीर मसान्तभित्रै पठाउन नसकिने होइन, सकिन्थ्यो तर गाउँ, नगर र महानगरका वडाहरूमा न्यूततम क्रियाशील सदस्य हुनैपर्ने भनिएका कारण त्यो रुजु गर्ने र नपुगेको ठाउँमा मिलाउने काम चलिरहेकाले ढिला भएको छ।
कांग्रेसले गाउँपालिकाको वडामा कम्तीमा ४५ जना, नगरका वडामा ४६ र महानगरमा कम्तीमा ४८ जना क्रियाशील सदस्यता पुर्‍याउनै पर्ने भनेको छ। अरु केही विवरणहरू पनि पहिलेभन्दा फरक भएको र तोकिएको फर्म्याटमा अपलोड गर्ने वा पेनड्राइभमा दिने गरी बनाइरहेको बराल बताउँछन्।
धादिङका सभापति रमेश धमला भने आन्दोलनको तयारीले गर्दा काम गर्न नभ्याएकाले नपठाएको बताउँछन्। “केही काम बाँकी थियो, बीचमा २९ गतेको प्रदर्शनलाई सफल बनाउने भन्ने केन्द्रको निर्देशनका कारण केही ढिला भएको हो, अब चाँडै पठाउँछौं” उनले भने। 
अहिलेसम्म विवरण पठाउने एक मात्र जिल्ला अर्घाखाँचीाले २४ मंसीरमा पठाएको सभापति विष्णुप्रसाद खनालले बताए।
“कोराना महामारी, २९ गतेको कार्यक्रम त छँदै थियो तर, आफूले गर्नुपर्ने काम समयमै गर्नुपर्छ भनेर मैले समयमै पठाएँ”, हिमालखबरसँगको टेलिफोन कुराकानीमा उनले भने। उनका अनुसार धेरै जिल्लामा शक्ति हस्तान्तरण गर्ने चलन नभएका कारण पनि समस्या भइरहेको हो।

विभिन्न जिल्लाहरूमा अझै समायोजन टुंगिएको छैन। यसमा केन्द्रकै नेताहरूको दोहोरो भूमिका रहेको छ। एकातिर समायोजन गर्न भनेर परिपत्र गर्ने अर्कोतिर हतार छैन भन्दै फोन गर्ने दोहोरो भूमिका देखिएको छ। क्रियाशील सदस्यताको विवादमा आग्रह पूर्वाग्रह नगरी स्थानीय तहलाई पावर हस्तान्तरण गर्नुपर्छ, मेरो मान्छेलाई दिनैपर्छ भन्ने नचाहेको देखिन्छ।
हाम्रो जिल्लामा ६ वटा पालिकाका ६१ वटा वडा छन्, सबै पालिका र वडाका सबै सभापति, भ्रातृ तथा शुभेच्छु संस्था र जिल्ला तथा प्रदेश समितिको सभापतिहरूको संयुक्त बैठक राखेँ। सबैलाई पावर वितरण गरेँ। सहजीकरणको लागि प्रत्येक वडामा प्रतिनिधि पुग्ने व्यवस्था गर्‍यौं। मुख्य कुरा पार्टी माथिबाट मैले नै चलाउँछु भनेर हुँदैन, तल्लो तहलाई विश्वास गर्नुपर्छ। सबै ठाउँमा म पुग्छु भनेर जिल्ला सभापतिहरूले पनि सोच्नु भएन। त्यही भएर जिल्ला कार्यसमितिका सबैलाई वडा-वडामा परिचालन गर्न सक्नुपर्छ।  
जिल्लामा कांग्रेसका कोही पनि मान्छेले मैले पाउनुपर्ने तर क्रियाशील सदस्यता पाइँन भन्ने गुनासो गर्ने ठाउँ नराखी काम गरेका छौं। यो म दाबीकासाथ भन्न सक्छु। यसमा मेरो मात्रै भन्दा पनि जिल्लाका सबै तहका नेताको भूमिका छ। जिल्लाबाट करीब करीब ४० प्रतिशत महिलासहित १२ हजार जना क्रियाशील सदस्यहरूको विवरण पठाएका छौं। कसैको दाबी विरोधको सूचना निकालेर समेत विवादरहित ढंगले पठाएको छौं। 
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने एक/दुई दिनमा सबै जिल्लाबाट विवरण प्राप्त हुने दाबी गरे। पार्टीका सबै तह २९ मंसीरको कार्यक्रम सफल बनाउनतिर व्यस्त रहँदा केही ढिलाई भएको हुनसक्ने उनको मत छ। 
“कतिको प्राप्त भयो, भएन भन्ने अब एक/दुई दिनमा निर्वाचन समितिले हेरिसकेपछि थाहा हुन्छ। नपठाएको भए पनि एक/दुई दिनमा आइसक्ला भन्ने हो”, प्रवक्ता शर्माले भने, “कतिले सफ्टवेयरमा अपलोड गर्नुहोला, कतिले हार्डकपी पठाउनुहोला। त्यो कार्यालय र निर्वाचन समितिले हेरेपछि आधिकारिकरूपमा क्रियाशील सदस्यताबारे भन्न सकिन्छ।”
पार्टीको केन्द्रीय महाधिवेशन फागुनमा हुन नसक्ने र केन्द्रीय नेतृत्वले अर्को मिति पनि नतोकेका कारण जिल्ला नेतृत्व निष्क्रिय बन्न थालेका छन्। जसको असर क्रियाशील सदस्यतामा लेखिएको छ।
कांग्रेसले यसपटक सबै क्रियाशील सदस्यताको विवरण सफ्टवेरमा अपलोड गर्ने तयारी गरेको छ। सफ्टवेयरमा क्रियाशील सदस्यहरूको विवरण राखेपछि उनीहरूको जाति, क्षेत्र, लिंग तथा उमेरगत विवरणलगायत अन्य विवरण पनि निकाल्न सहज हुने कांग्रेसले बताएको छ। 

स्राेत – हिमालखबर

Advertisment