च्याउको आम्दानीले विदेशको कमाइ बिर्सायो

प्रकाशचन्द्र भट्टराई
दमौली, माघ ४ गते । व्यास नपा–१४ का मखन गुरुङ केही वर्ष अघिसम्म वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो । वैदेशिक रोजगारीका लागि कहिले इराक, कहिले दुबई त कहिले साउदी अरब र मलेसियासम्म पुग्नुभएका उहाँ अहिले भने आफ्नै गाउँमा च्याउ र तरकारी खेतीमा रमाइरहनु भएको छ । ‘लामो समय विदेशमा रोजगारीमा बिताएँ’ उहाँले भन्नुभयो ‘तर स्वदेशको जस्तो कमाइ विदेशमा भएन ।’
मखनले व्यास नपा १३ का साथी टकबहादुर गुरुङसँग मिलेर व्यास नपा १३ को सोंढेमा च्याउखेती गर्नुभएको छ । टकबहादुरले चार वर्ष अघिदेखि गरेको च्याउ खेतीमा मखन दुई वर्ष अघिदेखी मिसिनुभएको हो । यस बाहेक मखनले आफ्नै घर नजिक ३ रोपनी जग्गामा एभोकाडो र तरकारी खेती गर्नुभएको छ ।

सोंढेस्थित बुद्धसिंह मार्गको छेवैमा टकबहादुर र मखनले जग्गा भाडामा लिएर च्याउखेती गर्नुभएकाे छ । पाँच वटा टनेल बनाएर जापानीज ब्ल्यु क्याप र अ‍मेरिकन ब्ल्यु क्याप जातको च्याउबाट मनग्गे आम्दानी भएको टकबहादुरले बताउनु भयो । एउटा टनेल निर्माण गरि च्याउ उत्पादन गर्दासम्म ९० हजार रुपैयाँ खर्च हुने र त्यसबाट डेढ लाख जति अम्दानी हुने उहाँले बताउनुभयो । पाँच वटा टनेलबाट एक पटक करिब ३ लाख रुपैयाँ जति नाफा हुने उहाँको भनाइ छ ।

बर्षायाममा किरा लाग्ने तथा हावा हुरी र पानीले टनेललाई असर गर्ने हुँदा असोजको सुरु देखी चैत मसान्तसम्म मात्र च्याउ लगाउने टकबहादुरले बताउनुभयो ।

वैशाखदेखि असोजम्म धान, मकै, कोदो तथा तरकारी खेतीमा लाग्ने उहाँले बताउनुभयो ।

सिराहा जिल्लाबाट पराल ल्याई त्यसलाई पकाएर कटिङ गरेर पोका/पोका बनाएर टनेल भित्र बनाइएको टाँडमा झुन्ड्याएर च्याउ उत्पादन गरिँदै आएको छ । प्रत्येक टनेलमा १५ दिनको फरकमा च्याउ उमार्ने भएको कारण सिजभर हरेक १५ दिनमा च्याउ विक्री गर्न सकिने उहाँहरुको भनाइ छ । उत्पादित च्याउ सदरमुकाम दमौलीमा ल्याई प्रति केजी १ सय ६० रुपैयाँमा थोकमा विक्री गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

विदेशको भन्दा स्वदेशमै राम्रो कमाइ भएपछि मखनले विदेश जाने सोच त्यागिसक्नुभएको छ । विदेशको भन्दा राम्रो कमाइ आफ्नै घरमा बसेर गर्न सकिने भएपछि विदेश जाने सोच अन्त्य गरेको उहाँ बताउनुहुन्छ । अहिले रोजगारीका लागि विदेश जाने सोचाइमा रहनुभएका अन्य युवाहरुलाई पनि उक्त सोच अन्त्य गरी व्यवसायिक खेती र पशुपालनमा लाग्दा उपयुक्त हुने उहाँले सुझाव दिनुभएको छ । च्याउ तथा तरकारी खेतीकोलागि अहिलेसम्म कुनै तालिम र प्रशिक्षण नलिएको तर पनि व्यावहारिक प्रयोगले सफल बन्दै गएको उहाँले बताउनुभयो । च्याउ खेतीका लागि उहाँहरुलाई व्यास नगरपालिकाले बिउमा ५० प्रतिशत अनुदान दिएको गोरखापत्र अनलाइन संस्करणले उल्लेख गरेको छ ।

Advertisment