देउवाको आशंका: अदालतले हैन, निर्वाचन आयोगले बदमासी गर्नसक्छ

भैरहवा: कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भएको बताएका छन् । अदालतले भन्दा पनि निर्वाचन आयोगबाट बदमासी हुनसक्ने भन्दै आयोगको पछिल्लो भूमिकाप्रति प्रश्न उठाए ।

प्रधानमन्त्रीले चुनाव घोषणा गरिसक्दा पनि आयोगले कुनै तयारी नगरेको र यसबारे प्रतिक्रिया नदिएकोबारे आशंका गर्नुपर्ने भएको देउवाले बताएका छन् । भैरहवामा सोमबार कांग्रेसको विरोध सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ। किन यसले चुनावको कार्यतालिका प्रकाशित गर्दैन ? सबै पार्टीलाई बोलाएर किन चुनावी कार्यक्रम दिन सक्दैन? अदालतको निर्णय पर्खने काम आयोगको होइन। आयोगले छ महिनाभित्र निर्वाचन गर्छु भनेर जनतालाई भन्नुपर्‍यो’ सभापति देउवाले भने ।

आयोगले चुनावबारे कुनै तयारी नगरेको र नबोलेको भन्दै देउवाले यसबारे आपत्ति जनाएका थिए । उनले भनेका छन्, ‘संसद विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्छ। तर निर्वाचन आयोगले अझै किन कार्यतालिका ल्याउँदैन? जेठको अन्त्यसम्म चुनाव गर्नैपर्छ। तर निर्वाचन आयोग चुनाव गराउँछु भनेर बोलेकै छैन। बदमासी गर्न सक्छ आयोगले । किन बोल्दैन निर्वाचन आयोग? शंका गर्नुपर्ने बेला भएको छ ।’

अदालतले भन्दा पनि निर्वाचन आयोगले बदमासी गर्नसक्नेमा देउवाले चिन्ता व्यक्त गरेका थिए । तर संसद पुनर्स्थापनाबारे भने देउवाले कुनै प्रतिक्रिया दिएका छैनन् । उनले यसअघि पनि संसद विघटनको मुद्दाबारे अदालतको फैसला पर्खनुपर्ने भन्दैआएका छन् ।

Advertisment