क्षेत्रबहादुर कुंवर ‘जीवन कथा’ लोकार्पण

पोखरा, ४ फागुन । पोखराका शिक्षासेवी एवं साहित्यकार क्षेत्रबहादुर कुँवरको ‘जीवन कथा’ पुस्तक लोकार्पण गरिएको छ । कुँवरको ७५ औं जन्मोत्सव अवसरमा उनको पोखरा–१४ स्वर्गद्वारी निवासमा आयोजित समारोहमा पुस्तक लोकार्पण गरिएको हो ।

प्रमुख अतिथि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाले पुस्तक विमोचन गर्दै पुस्तकबाट उनलाई अझ नजिकबाट चिन्ने अवसर मिल्ने बताए । वरिष्ठ फिजिसियन समेत रहेका प्राडा थापाले कुँवरको नियमित स्वास्थ्य जाँच गरेको स्मरण गर्दै साहित्यिक कर्ममा अझै लाग्ने उत्प्रेरणा मिलोस् भनी दीर्घायुको कामना गरे ।

पोखराको शिक्षा, साहित्य, पत्रकारिता, राजनीतिक तथा समाजसेवामा योगदान पु¥याएका कुँवरका यसअघि ७ कृति पाठकसमक्ष आएका छन् ।

यसअघि उनको जीवनीसंग्रह प्रकाशित भैसकेकोमा अहिले प्रकाशित ‘जीवन कथा’ भने आत्मवृतान्तमा आधारित छ । उनले ७५ वर्षको उमेरकालसम्म भोगेका विभिन्न घटनाक्रम, विगतको वस्तुस्थिति लगायतबारे झण्डै सय शीर्षकमा मिहिन ढंगले पुस्तकमा समेटेका छन् । पुस्तकबाट विगतको पोखरा चिन्ने अवसर मिल्ने भएकोे पुस्तक मूल्यवान् रहेको प्रकाशक पोखरा वाङ्मय प्रतिष्ठान नेपालले जनाएको छ । स्रष्टा कुँवरले लकडाउनको समय सदुपयोग आफूले सम्झे जति सम्पूर्ण विषयवस्तु यथार्थ घटनामा आधारित रहेर लेखेको हुँदा सबैको लागि उपयोगी हुने दाबी गरे ।

पत्रकार विजय नेपाल, शिक्षक कमलराज ढुंगाना र अलौकिक कवि देशभक्तसिंह कुँवरले पुस्तक सम्पादन गरेका हुन् । पुस्तकमा फोटो कथासहित ३१० पृष्ठ लामो छ ।

अलौकिक कवि देशभक्तसिंह कुँवर प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्राज्ञ सूर्य खड्का बिखर्ची, समालोचक मदन भण्डारी, निवृत्त शिक्षक समुदाय कास्कीका अध्यक्ष तोयनाथ लामिछाने, डा. मुकुन्दप्रसाद आचार्य, समाजसेवी जेबी कुँवर, रोमबहादुर कार्की, पुस्तक सम्पादकहरु विजय नेपाल, कमलराज ढुंगाना, देशभक्तसिंह कुँवर, मुमताज कुँवर लगायतले मन्तव्य व्यक्त गर्दै स्रष्टा कुँवरको दीर्घायुको कामना गरे ।

प्रतिष्ठान अध्यक्ष प्राडा यमबहादुर पौडेल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सञ्चारकर्मी तिर्सनालक्ष्मी गुरुङ र सञ्चालन गीतकार सुमन श्रापितले गरेका थिए । कार्यक्रममा सञ्चारकर्मी अम्बिका राणाले स्रष्टा परिचय राखेकी थिइन् ।

सो अवसरमा आयोजकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा थापालाई स्वास्थ्य सेवामा पु¥याएको कदर गर्दै सम्मान गरेको थियो । श्रीपञ्चमीकै दिन जन्मिएका स्रष्टा कुँवरको जन्मदिन पारेर सरस्वती पूजा, नारायण पूजा, लाखबत्ती समेत गरिएको थियो । मेघा एफएमले व्यवस्थापन गरेको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिको उल्लेख्य उपस्थिति थियो ।

Advertisment