सेराबेसी खानेपानी समितिमा नयाँ नेतृत्व

पोखरा, १५ फागुन । तनहुको शुक्लागण्डकी नगरपालिका वडा नं १ सेराबेसीमा कृयाशिल सेराबेसी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको चौथो अधिवेशन तथा छैटौं साधारणसभाले हरिप्रसाद भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा भोलानाथ पन्थी, सचिवमा रामभक्त खनाल, कोषाध्यक्षमा सीता पन्थी रहनुभएको छ । त्यस्तै समितिका सदस्यहरूमा बन्धुराज भण्डारी, हिमालयराज ढकाल, लक्ष्मीकुमारी भण्डारी, विश्वराज वाग्ले, तिलादेवी भण्डारी, श्रीप्रसाद तिम्सिना र जुना परियार रहनुभएको छ । समितिको लेखा समितिमा संयोजक केशवराज पौडेल र सदस्यहरूमा हरिश्चन्द्र पन्थी र विश्वराज भण्डारी हुनुहुन्छ । निर्वाचित पदाधिकारीलाई निर्वाचन संयोजक ठाकुरप्रसाद खनालले प्रमाणपत्र प्रदान गर्नुभयो भने विशिष्ट अतिथि डिल्लीराम अधिकारीले अविर लगाएर बधाइ तथा शुभकामना दिनुभएको थियो । निर्वाचित समितिका पदाधिकारी तथा सदस्यलाई निर्वाचन संयोजक खनालले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो ।

यस अघि कार्यक्रमको उद्घाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथि शुक्ला गण्डकी नगरपालिका वडा नं १ का वडा अध्यक्ष रविचन्द्र पौडेलले खानेपानी योजनाको मर्मत सम्भारका लागि वडाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । शेराबेँसीलाई नमूना गाउँका रुपमा विकास गर्ने आफ्नो चाहना भएको उहाँले बताउनुभयो ।
विशिष्ट अतिथि समाजसेवी डिल्लीराम अधिकारीले गाउँमा विकासका पूर्वाधारहरूको विकास क्रमशः भएको बताउँदै समाजको विकासमा सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिनुभयो ।
कार्यक्रममा काँग्रेस नेता खेमराज अधिकारी, खानेपानी समितिका पूर्व अध्यक्ष मोहनप्रसाद पन्थी, अग्नीदत्त ढकाल लगायतले खानेपानी योजनाले सेराबेसी क्षेत्रमा पारेको प्रभाव लगायतमा आ आफ्ना धारणा राख्नुभयो ।
समितिका अध्यक्ष हरिप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन एवम् आर्थिक प्रतिवेदन कोषाध्यक्ष पवित्रा खनालले प्रस्तुत गर्नुभयो भने स्वागत उपाध्यक्ष भोलानाथ पन्थीले गर्नुभयो ।

Advertisment