चीनतर्फ आरोहण बन्द हुँदा नेपालबाट सगरमाथामा आरोही बढ्ने

छेटु शेर्पा
काठमाडौं, चैत ५ गते । कोरोना भाइरसको कारण भन्दै चीनले सगरमाथा आरोहण बन्द गरेपछि नेपालतर्फको बाटो हुँदै आरोहण गर्ने आरोहीको संख्या बढ्ने भएको छ ।
चीन तिव्वततर्फको बाटोबाट सगरमाथा आरोहण गराउने एजेन्सीहरुका अनुसार करिव एकसयजना भन्दा बढी आरोही नेपालतर्फ बृद्धि हुने भएको छ ।

तिव्वततर्फ आरोहण सञ्चालन गर्ने सेभेन समिट क्लव ट्रेकका प्रमुख मिङमा शेर्पाका अनुसार तिव्वततर्फ आरोहण बन्द भएपछि १३ जना सगरमाथा र १३ जना ल्होत्से गरी २६ जना आरोही नेपालतर्फ आएको बताउनुभयो । अर्का कम्पनी सेभेन समिट ट्रेकका प्रमुख मिङमा शेर्पाका अनुसार चीनतर्फको बाटो हुँदै आरोहण गर्ने २० जना आरोही नेपाल तर्फबाटै आरोहण गर्ने तयारीमा जुटेको बताउनुभयो ।
चीनको तिव्वततर्फ र नेपालतर्फबाट मात्र सगरमाथा आरोहण हुने गर्छ । करिकोप्लर कम्पनी, सेभेन समिट क्लव, फुर्तेम्वाज एडभेन्चर, आइसल्याण्ड ट्रेक लगायतले सबैभन्दा धेरै आरोही तिव्वततर्फबाट आरोहण गराउने गरेको छ । यस वर्ष भने नेपालतर्फबाट आरोहण गर्ने भएको जनाएको हो ।

कोरोना भाइरसको महामारीले पर्वतारोहण पर्यटनमा असर पुर्याए पनि यो वसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने आरोहीको संख्या तीन सय जनाभन्दा बढी हुने सेभेन समिट कम्पनीका प्रमुख शेर्पाले बताउनुभयो ।
कामदार, गाइड र आरोही गरी करिव दुई हजार जनाभन्दा बढी आधारशिविर पुग्ने उहाँले बताउनुभयो । क्याम्प दुई भन्दा माथिको बाटो बनाउने जिम्मा समेत लिएको यस कम्पनीबाट बहराइनका राजकुमार सहित ८० जना आरोहीले सगरमाथा आरोहण गर्ने तयारी रहेको जनाएको छ । पायोनियर एडभेन्चर ट्रेकबाट १७ जना आरोही आरोहण गर्ने जनाएको छ ।

सगरमाथा, ल्होत्से, नुप्से र पुमोरी हिमाल आरोहणका लागि आधारशिविर एउटै प्रयोग हुने भएकाले आधारशिविरमा मानव चाप बढ्ने भएको छ । ६९ जना माउन्टेन गाइड र ४३ जना शैनिकले बैसाख र जेठ महिनामा यि हिमालहरुबाट फोहोर संकलन गर्ने तयारी भएको छ । सगरमाथा आरोहणका लागि नेपालतर्फ सहज र सुरक्षित हुने भन्दै आरोहीहरु आउने गरेको पायोनियर ट्रेकका निर्देशक लाक्पा शेर्पाले बताए । ताजा खानेकुरा खान पाउने, तत्काल रेस्क्यू हुने, शेर्पाहरुको सामूहिक सहकार्य हुने, सुरक्षित आरोहण बाटो, भरपर्दो डोरी प्रयोग र ट्राफिक जाम रोक्न दोहोरो बाटो निर्माण हुने भएकाले आरोहीको रोजाइ नेपालतर्फ हुने गरेको उहाँले बताउनुभयो ।

लकडाउनकै समय ४५ जना आरोहीले नौ वटा हिमाल आरोहण गरेको पर्यटन विभागको तथ्याङक छ । विभागका अनुसार वसन्त ऋतुमा आरोहणका लागि नुप्सेको लागि चार जना र मनास्लुका लागि एक जना आरोहीले आरोहण अनुमति लिएका जनाएको छ ।
गोरखापत्रबाट

Advertisment