कोरोनाका कारण धुलिखेल अस्पतालमा एकको मृत्यु

मधुसुधन तिमल्सिना
काभ्रे, चैत १३ गते । दोलखा जिल्लाको विगु गाउँपालिकाका ६२ बर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ । उहाँँ निमोनियाका कारण श्वासप्रश्वासमा कठिनाइ भएपछि उपचारका लागि धुलिखेल अस्पतालमा भर्ना हुनुभएको थियो ।

धुलिखेल अस्पताल आकस्मिक कक्षका प्रमुख सानुकृष्ण श्रेष्ठले चैत ११ गते राती ९ बजे भर्ना हुनुभएको उहाँको चैत १२ गते दिउँसो निधन भएको थियो । उहाँको मृत्युपश्चात शंका लागेर परीक्षण गर्दा कोभिड पुष्टि भएको श्रेष्ठले जानकारी दिनुभयो । निधन पश्चात कोभिड पुष्टि भएपछि शवलाई नेपाली सेनाले सुरक्षासहित अन्त्येष्टि गरिएको छ । जिल्ला कमाण्ड पोष्टले थप सुरक्षाका लागि अस्पताल प्रशासनलाई अनुरोध गरेको छ भने अस्पतालले सेवा नरोकी सुरक्षा मापदण्ड अपनाएको जनाएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले कोरोना सङक्रमण बढ्न सक्ने भन्दै सचेतना बढाउन स्थानीय तहलाई अनुरोध गरेको बताउनुभयो । फागुपूर्णिमा (होली) लगायतका पर्वमा कोरोना सङक्रमण फैलन सक्ने भन्दै सरोकारवाला चिन्ता व्यक्त गरेका छन् ।

काभ्रेपलाञ्चोक जिल्लामा शुक्रबार सम्ममा तीन हजार तीन सय ७५ जनामा सङक्रमण भएका छन् भने ६२ जनाले ज्यान गुमाएका छन् । जिल्लाबाहिरका १७ र जिल्ला भित्रका ४५ जना नागरिकले कोभिडकै कारण ज्यान गुमाएको डा. झाले जानकारी दिनुभयो । कोभिड खोप लगाउनेको संख्या जिल्लामा २३ हजार ६ सय ३५ छ । जिल्लामा सक्रिय संक्रमितको संख्या सात छ । सबै जना होम आइसोलेसनमा उपचारार्थ छन् ।

Advertisment