देशभर कोरोना बढ्यो, भिडभाड उस्तैः लापर्बाही बढ्दो, अनुगमन निष्प्रभावी

प्रशान्त वली
काठमाडौं । देशभर दैनिक २ हजार ५ सय जनाको हाराहारीमा कोरोना भाइरस संक्रमित थपिँदै गए पनि हेलचेक्र्याइँ अत्यधिक बढेको पाइएको छ ।

यही अवस्थामा संक्रमण थपिँदै गए हाल रहेको स्वास्थ्य संरचनाले धान्न नसक्ने सरकारले प्रस्ट पारिसकेको छ । तर, कोरोना रोकथामको अचुक उपाय मानिएको भौतिक दूरी कायम, मास्क समुचित प्रयोग र सरसफाइलगायत गर्न अधिकांश नागरिकले आनाकानी गर्दै आएका छन् ।

त्यस्तै, नियमनकारी निकाय सरकार र राजनीतिक दलले समेत जनस्वास्थ्य मापदण्ड पालना उल्लंघन गर्दै आएका छन् । अहिले दैनिकजसो शीर्ष दलले भेला, बैठक जारी नै राखेका छन् ।

देशका मुख्य सहरमा भिडभाड कम हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाए पनि कार्यान्वयन भइरहेको छैन ।

मुख्यतः सार्वजनिक यातायातमा सवार गर्दा भौतिक दूरी कायम हुन सकेको भने मास्क र घरबाहिर निस्किँदासमेत सेनिटाइजर उचित प्रयोग हुन सकेको छैन । सरकारले जनस्वास्थ्य मापदण्ड जारी गरे पनि कार्यान्वयन फितलो देखिएको छ । विभिन्न मेला, जात्रासमेत जारी छन् । विवाह, पार्टी जनस्वास्थ्य मापदण्ड पालनाबिनै भइरहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना जोखिम अत्यधिक बढेको भन्दै २५ जनाभन्दा बढी भेला नहुन आम नागरिकलाई आग्रह गरेका छन् । ‘भौतिक दूरी कायम नहुने, मास्क समुचित प्रयोग नहुने र सरसफाइमा ध्यान दिइएन भने जोखिम दर बढ्दै जान्छ,’ उनले भने ।

देशभरका स्थानीय प्रशासनले जनस्वास्थ्य मापदण्ड कार्यान्वयन गर्न पत्राचार गरे पनि सो विषय लागू हुन सकेको छैन । सरकारले समेत मापदण्ड उल्लंघन गर्नेलाई कारबाही दायरामा ल्याउन सकेको छैन । संक्रमण जोखिम बढे पनि केही नागरिकमा डरत्रास मान्न छाडेका छन् ।

चिउँडोमा मास्क लगाएर हिँड्ने गरेको समेत पाइएको छ । घरबाहिर निस्किँदा साबुनपानी नभएको बेला हातले केही छोए सेनिटाइजर उचित प्रयोग गर्ने भनिए पनि त्यसो हुन सकेको छैन । अझै सरकारको निर्देशनविपरीत केही विद्यालयले विद्यार्थीलाई भौतिक दूरीसहित पठनपाठन गराइरहेका छन् ।
कोरोना हुन नदिन के गर्ने ?
– भौतिक दूरी (कम्तीमा दुई मिटर)
– मास्क समूचित प्रयोग
– हातले मुख, नाक र शरीरका अन्य अंग नछुने
– साबुनपानी नभएको बेला सेनिटाइजर प्रयोग
– सकभर बाहिर ननिस्कने

रामी आवतजावत हुने स्थान मानिएको अस्पतालमा समेत भौतिक दूरी कार्यान्वयन चुनौतीपूर्ण बन्दै गएको छ । बजारमा सामान खरिद क्रममा जनस्वास्थ्य मापदण्ड कार्यान्वयन हुन सकेको छैन ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना संक्रमणबाट बच्न हेलचेक्र्याइँ गर्न नहुनेमा जोड दिन्छन् । ‘सबैभन्दा महत्वपूर्ण आत्मानुशासन हो, भिडभाड हुने ठाउँमा कोरोना फैलिने सम्भावना रहन्छ,’ पुनले भने, ‘कोरोना रोकथामका लागि जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।’

यसैबीच, औषधि व्यवस्था विभागले कोरोना उपचारमा प्रयोग हुने रेम्डिसिभिर औषधि आयात अनुमति दिएको छ । बंगलादेशमा उत्पादित ३० हजार भाइल रेमडिसिभिर औषधि आयातका लागि विभागले अनुमति दिएको हो ।

२ हजार ५ सय ५९ मा कोरोना, पाँचको मृत्यु
शुक्रबार देशभर २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ९ हजार ६ सय ६४ जनाको पीसीआर परीक्षण भएको छ ।

हालसम्म देशभर संक्रमित सख्या २ लाख ९४ हजार ६ सय १ पुगेको छ । हाल, नेपालमा सक्रिय संक्रमित सख्ंया १४ हजार ७ सय २४ पुगेको छ । शुक्रबार नै पाँच संक्रमितको मृत्यु भएको छ ।

देशभर ७५ व्यक्ति क्वारेन्टाइनमा छन् । हाल २ सय ३० संक्रमित आईसीयू र भेन्टिलेटरमा छन् । हालसम्म मृत्यु हुने संक्रमित संख्या ३ हजार १ सय २२ पुगेको छ ।

राजधानी दैनिकबाट

Advertisment