विद्यार्थी घट्दै गएपछि विद्यालय व्यवस्थापन समिति घरदैलो अभियानमा ! फोटो फिचर समेत..

अन्नपूर्ण । अन्नपूर्ण गा.पा. वडा नं. ६, चन्दक्रोटमा अवस्थित श्री संगम माध्यमिक विद्यालयले अभिभावक भेटघाट तथा घरदैलो अभियानको शुरुवात गरेको छ । बर्षेनी विद्यार्थी संख्या घट्दै गएपछि विद्यालय व्यवस्थापन समितिको निर्णयानुसार विद्यालयले अभिभावक भेटघाट तथा घरदैलो कार्यक्रम गरेको बताइएको छ ।
अभियानमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयमा अध्यापनरत शिक्षक–शिक्षिकाहरु एवम् स्थानीय बुद्धिजीविहरुको सहभागिता रहेको थियो । अभियानमा सहभागीहरुले अन्नपूर्ण–६, लुम्लेमा रहेका अभिभावकहरुको टोलटोलमा गई आगामी शैक्षिक सत्रदेखि विद्यालयमा सञ्चालन गरिने २२ बुँदे सुधार योजनाबारे जानकारी गराइएको थियो ।
उक्त अवसरमा संगम मा.वि.को शैक्षिक गुणस्तर वृद्दिका लागि विद्यालयमा अध्यापनरत् सम्पूर्ण शिक्षक–शिक्षिकाहरुबाट प्रतिबद्धता समेत जाहेर गरिएको छ । यसैगरी पूर्व विद्यार्थी मञ्च संगम मा.वि.का कोषाध्यक्ष आश बहादुर गुरुङ्गले विद्यालयको भौतिक तथा शैक्षिक बिकासका लागि विगतमा जस्तै आगामी दिनमा पनि मञ्चको तर्फबाट विद्यालय र त्यहाँ अध्ययनरत् विद्यार्थीहरुलाई आवश्यक सहयोग जारी रहने बताउनुभयो ।
श्री संगम मा.वि. बि.संं. २०२८ मा स्थापित साबिक लुम्ले गा.वि.स.कै एक अग्रणी विद्यालय हो । शहरोन्मुख बसाईसराई तथा निजी विद्यालय प्रतिको आकर्षणका कारण विगतमा उत्कृष्ट शैक्षिक सफलता हासिल गर्न सफल संगम मा.वि. केही बर्ष यतादेखि न्यून विद्यार्थी संख्याकै कारण अस्तित्वबाट गुज्रिरहेका छ । तसर्थ, संगम मा.वि.को अस्तित्व बचाई राख्न विद्यालयमा समयानुकूल गुणस्तरीय शिक्षा कायम राख्नका लागि नवगठित विद्यालय व्यवस्थापन समिति, कार्यरत शिक्षक वर्ग, पूर्व विद्यार्थी मञ्च र संगम बचाऊ अभियान विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन लगायतका विभिन्न योजनाहरुका साथ सामुहिक रुपमा लागि परेको जनाइएको छ ।
श्री संगम मा.वि., चन्द्रकोटमा हाल ६ देखि १० सम्मको कक्षा सञ्चालन हुदै आएको छ, जसमा जम्मा ५२ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । ती मध्ये अधिकांश विद्यार्थीहरु निम्न आय भएका दलित समुदायका रहेका छन, जसका कारण विद्यार्थीहरु नियमितरुपमा विद्यालय नआउने, बीचमै कक्षा छाड्ने जस्ता समस्याहरु विद्यमान रहेको छ ।
विद्यालयमा दिवा खाजा, जेहेन्दार छात्रवृत्ति, विद्यालय पोशाक एवम् आवश्यक स्टेशनरीको निःशुल्क प्रबन्ध गर्न सकेमा विद्यालयमा थप विद्यार्थी आकर्षित गरी शैक्षिक गुणस्तर समेत बढाउन सकिने विश्वास गरिएको छ । तसर्थ, विद्यालयको भौतिक र शैक्षिक बिकासका लागि विद्यालयले सहयोगको लागि सबैलाई अपिल समेत गरेको छ ।
अभिभावक भेटघाट तथा घरदैलो कार्यक्रम अझै केहि दिन जारी रहने र अन्नपूर्ण गाउँपालिका वडा नं. ७ मा पनि सञ्चालन गरिने कुरा विद्यालयका सहायक प्रधानाध्यापक प्रेमप्रसाद चापागाँइले बताउनु भएको छ ।
photo/news by आश बहादुर गुरुङ्ग

Advertisment