गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रीमा राजिव गुरुङ (दीपक मनाङे) लाई नियुक्त

पोखरा, बैशाख १६ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीपरिषद विस्तार गर्नुभएको छ । गण्डकी प्रदेशमा हाल रहेका मन्त्रालयलाई छुट्टाएर युवा तथा खेलकुद मन्त्रीमा मनाङबाट निर्वाचित राजिव गुरुङ (दीपक मनाङे)लाई नियुक्त गर्नुभएको हो ।
गत प्रदेशसभाको निर्वाचनमा मनाङ (ख) बाट स्वतन्त्र उमेदवारको रुपमा विजयी गुरुङ तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेपनि सर्वोच्चको निर्णयले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अस्तित्वमा आएपछि स्वतन्त्र हैसितमा रहनुभएको थियो ।
प्रदेशसभा आफूलाई स्वतन्त्र सदस्यको हैसित दिन माग सहित निवेदन दिनुभएका गुरुङले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्धमा दर्ता गरेको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने अनुमान गरिएको थियो । अविश्वासको प्रस्तावमा मतदान हुने दिन प्रदेशसभामा अनुपस्थित गुरुङले मनाङका जनताको आग्रहमा अविश्वासको प्रस्तावको पक्षमा जान नसकिएको बताउनुभएको थियो ।
नवनियुक्त मन्त्री गुरुङलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराउँनुभएको थियो । मन्त्रीमा नियुक्तीपछि गुरुङले युवा तथा खेलकुद क्षेत्रमा केही नयाँ काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्धमा संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुने दिन राष्ट्रिय जनमोर्चाका एक सदस्य सम्पर्कमा नआएपछि प्रदेशसभाको विशेष अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।
छ वटा मन्त्रालय रहेको गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्री नियुक्तिसँगै मन्त्रालयको सङ्ख्या सात पुगेको छ । यस अगाडि नेकपा माओवादी केन्द्रले पाएको आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत र भूमी व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैले राख्नुभएको छ ।

Advertisment