पहिलो यानसेतु विमानस्थल बन्दै

भैरहवा, जेठ २१ गते । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको पहिलो यानसेतु (एरोब्रिज) विमानस्थल बन्ने भएको छ । यानसेतु अर्थात् एरोब्रिज भनेको टर्मिनल भवनको प्रस्थान कक्षबाट सीधै जहाजभित्र प्रवेश गर्न मिल्नेगरी बनाइएको एक किसिमको यान्त्रिक आकाशे पुल हो ।
विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको नयाँ बन्ने टर्मिनल भवन छवटा यानसेतु रहने गरी डिजाइन भएको छ । डिजाइनको काम भारतीय परामर्शदाताले गरिरहेको छ ।
आर्थिक वर्ष २०७८/७९ को बजेटमा नयाँ टर्मिनल भवनका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरेपछि दोस्रो टर्मिनल भवनका लागि बोलपत्र आह्वानको तयारी अगाडि बढाइएको छ । सरकारले बजेटमा गौतमबुद्ध विमानस्थलका लागि तीन अर्ब ५४ करोड रुपियाँ विनियोजन गरेको छ । विमानस्थलका लागि पर्याप्त बजेट छुट्टिएकाले अब छिट्टै बोलपत्र आह्वान गरिने विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताउनुभयो । अहिलेको टर्मिनल भवनको पश्चिमतर्फ नयाँ टर्मिनल भवन निर्माण हुनेछ ।
भारतीय परामर्शदाताले तयार गरेका ती डिजाइनबारे अध्ययन भइरहेको र छिट्टै नै स्वीकृत हुने र टेन्डर प्रक्रिया अघि बढ्ने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताउनुभयो । दोस्रो टर्मिनल भवन बुद्ध कला र संस्कृति झल्किने गरी निर्माण गर्ने सोच सरकारको रहेको महानिर्देशक पोखरेलले बताउनुभयो । यानसेतु सुविधा भएको टर्मिनल भवन सम्भवतः नेपालमै पहिलो हुने आयोजना प्रमुख अधिकारीले बताउनुभयो ।
विमानस्थल आयोजनाका अनुसार दोस्रो टर्मिनल भवन घाँघरा खोला र हाल रहेको टर्मिनल भवनको बीचमा बन्नेछ । दोस्रो टर्मिनल भवन बनेपछि अहिलेको टर्मिनल भवन आन्तरिक टर्मिनल भवनमा परिणत हुनेछ ।
अहिले विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ । विमानस्थलको भौतिक प्रगति ९६.५ प्रतिशत पुरा भएको छ । विमानस्थल निर्माण अन्तिम चरणमा पुगिसक्दा निम्तिएको कोभिड सङ्कटले प्राविधिक जनशक्ति आउन ढिलाइ हुँदा काममा केही बिलम्ब भएको आयोजना प्रमुख अधिकारीले बताउनुभयो । “अब अवस्था सहज भए दुई महिनाभित्रै विमानस्थल निर्माण सम्पन्न हुन्छ,” उहाँले भन्नुभयो ।
राष्ट्रिय गौरवको यो आयोजनाको म्याद अहिलेसम्म छ पटक थपिएको छ । पछिल्लोपटक थप गरिएको म्याद आगामी जुन ३० सम्म छ । डिसेम्बरमा सकिएको अवधि छ महिनाका लागि थपिएको हो । अब लाइट जडान, फर्निचर, फल्स सिलिङ, फिनिसिङ र केही उपकरण जडानको काम मात्रै बाँकी छ । अहिले पनि आयोजनास्थलमा नेपाली, भारतीय र चिनियाँ गरी सय जना कामदारले काम गरिरहेका छन् । अस्ट्रिया, अमेरिकालगायत मुलुकबाट प्राविधिक जनशक्ति नआउँदा पनि काममा ढिलाइ हुन पुगेको अधिकारीले बताउनुभयो ।
अब थाइल्यान्डबाट विशेष विमान ल्याएर परीक्षण उडान गर्ने विषयमा पनि कुरा भइरहेको अधिकारीको भनाइ छ । आयोजनाका लागि बजेट सुनिश्चित भएपछि काम गर्न उत्साह थपिएको पनि अधिकारीले बताउनुभयो ।
एसियाली विकास बैङ्कको सहुलियत ऋण सहयोगमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी सात अर्ब ३२ करोड रुपियाँ खर्च हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । गोरखापत्रबाट

Advertisment