भारतलाई रिझाउन गिट्टी बालुवा निकासी राष्ट्रघाती : विपक्षी गठबन्धन

काठमाडौं । विपक्षी गठबन्धनले गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेको छ । सत्ता टिकाउन भारतलाई रिझाउने राष्ट्रहीत विरोधी कदम भएको गठबन्धनको ठहर छ ।

गठबन्धनका शीर्ष नेताहरुले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै ढुंगा, बालुवा र गिटीको निकासी गरेर व्यापार घाटा न्यूनिकरण गर्ने बजेटको घोषणाको समेत विरोध गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेबरहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यो नेपालको तराई क्षेत्रलाई मरुभूमिकरण गर्ने र त्यहाँका वासिन्दाहरुलाई बाढी, डुबान र पानीको श्रोत सुक्ने समस्यामा पार्दै जनजीवनलाई नै जोखिमयुक्त बनाउने राष्ट्रघाती र जनघाती घोषणा हो ।’

अघि भनेका छन्, ‘वस्तुत यो सत्ता टिकाउनका लागि कसैलाई रिझाउने र राष्ट्रिय स्रोतलाई निहीत स्वार्थ साधनका लागि दुरुपयोग गर्ने राष्ट्रहित विरोधी निर्णय हो ।’

विपक्षी गठबन्धनले शुक्रबार भएको मन्त्रिपरिषद् पुनर्गठनको पनि विरोध गरेका छन् । सरकार काम चलाउ भइसकेको र संसद विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन भएको बेला भएको मन्त्रिपरिषद् विस्तार संवैधानिक र लोकतान्त्रिक मूल्य र मान्यताको उपहास भएको विपक्षी गठबन्धनको ठहर छ ।

Advertisment