चीनतर्फकाे उडान अझै अन्यौलमा

काठमाडौं, जेठ २५ गते । सरकारले चीनका लागि उडान गर्न अनुमति दिने निर्णय गरेको एक साता बिते पनि चीनले भने उडान गर्न अनुमति माग गरेको छैन । एक साता अघि नागरिक उडड्यन प्राधिकरणले उडान गर्न कुनै एउटा जहाज कम्पनी नामावलीसहित उडान माग गर्न पत्र पठाए पनि आजसम्म उडानका लागि अनुमति नलिएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

सरकारले टर्की, कतार, चीन र भारतका लागि उडान गर्न पाउने निर्णय गरेको छ । टर्किस एअर, कतार एअर, एअर इण्डिया र नेपाल एअरलाइन्सले भने सातामा एक पटक उडान गर्ने गरी अनुमति लिई उडान शुरु गरी सकेको क्षेत्रीले जानकारी दिनुभयो । तर चीन सरकारले भने सुरक्षा मापदण्डमा कडाइ गरेपछि उडान गर्ने पक्षमा तत्काल नभएको बुझिएको छ । यता, चीनका लागि उडान गर्ने गरी हिमालय एअरलाइन्सलाई अनुमति लिन भने पनि स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गर्न समस्या हुने भन्दै अनुमति लिन चाहेका छैन् ।

हाल चारवटा हवाइ कम्पनीले पाँच स्थानमा उडान गर्दै आएका छन् । यसमा टर्कीस एअरलाइन्सले इस्तानबुल– काठमाडौं र काठमाडौं इस्तानबुल, कतार एअरलाइन्सले दोहा–काठमाडौं, काठमाडौं–दोहा, एअर इन्डियाले दिल्ली–काठमाडौं, काठमाडौं– दिल्ली र नेपाल एअरलाइन्सले काठमाडौं– दोहा, दोहा– काठमाडौं र काठमाडौं–दिल्ली, दिल्ली काठमाडौंका लागि सातामा एक पटक उडान गर्दै आएका छन् । यता सरकारले अर्को निर्णय नभएसम्मका लागि भन्दै आन्तरिक उडान बन्द गरेपछि कहिलेदेखि सञ्चालन हुनेभन्ने अझैँ निश्चित नभएको प्राधिकरणले जनाएको छ ।

Advertisment