बाढी र पहिरोका कारण ठाउँ ठाउँमा सडक अवरुद्ध

काठमाडौँ, ९ असार
वर्षाका कारण बाढी र पहिरो आउँदा आजसम्म देशभरका १३ सडक पूर्ण रुपमा अवरुद्ध छन् भने २८ सडक एकातर्फबाट (आशिंक) मात्रै सञ्चालनमा छन् ।
वर्षाले देशभरका विभिन्न राष्ट्रिय राजमार्गहरु अवरुद्ध भएका हुन । असार यता ५६ सडक अवरुद्ध भएकामा अहिले १५ सडक पूर्ण रुपमा नियमित छ । विभागअन्तर्गका डिभिजन सडक कार्यालयले नजिकैका हेभि इक्युपमेन्ट कार्यालयसँगको समन्वयमा सडक सकेसम्म दुबैतर्फ नसकेमा एकातर्फबाट सुचारु गरिरहेको विभागले जनाएको छ ।
डुम्रे–बेशीशहर–चामे सडक मनाङ र लमजुङको विभिन्न खण्डमा मस्र्याङदी नदीले ट्रयाक बगाउँदा र ठूलो ढुङ्गा सहित पहिरो जाँदा अवरुद्ध भएको छ । लमजुङको रामबजार, अर्गले, घट्टेखोला र च्याम्चे खण्डमा सडक १ गते अवरुद्ध भएकामा अझै खुल्न सकेको छैन । मनाङमा तिमाङ खोलाले धारापानीमा १ गते र बगरछापमा ३ गते अवरुद्ध भएको थियो । त्यस्तै मनाङको तिमाङ छहरामा जेठ १६ गते सडक अवरुद्ध रहेकामा अझै सो सडक खुल्न सकेको छैन ।
अरनिको राजमार्गमा लिपिङ् पुल क्षतिग्रस्त हुँदा त्यहाँको यातायात पूर्ण रुपमा ठप्प छ । सोही राजमार्गको कोदारी र ड्याम साइटमा पहिरोका कारण सडक अवरुद्ध भएकामा हटाउने काम भइरहेको छ ।

Advertisment