सरकार अहिले ठिक लाइन र जनताको पक्षमा :मुख्यमन्त्री पाेखरेल

पोखरा, १६ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसमक्ष नेपाल प्रेस युनियनले शुक्रबार भेट गरेको छ । प्रेस युनियन कास्कीका अध्यक्ष नबिन सिग्देल नेतृत्वको टोलीले मुख्यमन्त्रीलाई भेट गरी बधाईसहित सफल कार्यकालको शुभकामना दिएको छ । कार्यक्रममा युनियनले सामाजिक विकाश मन्त्री कुमार खड्कालाई पनि बधाई दिएको थियो । भेटमा मुख्यमन्त्री पोखरेलले प्रेस स्वतन्त्रता प्रति सधैं प्रतिवद्ध रहेको बताए । प्रेस युनियनले आफ्नै पार्टीको सरकार हुँदा धेरै खालका अपेक्षा गर्नु स्वाभाविक नै भएको बताउँदै माग पुरा गर्नु आफूहरुको दायित्व रहेको जनाए । सरकार अहिले ठिक लाइन र जनताको पक्षमा रहेको पनि उनको भनाइ थियो । पत्रकारको हकहितका लागि साधन स्रोतले भ्याएसम्म पत्रकारहरुसँगै सल्लाह गरेर अघि बढ्ने बताए ।
सामाजिक विकाश मन्त्री तथा प्रवक्ता कुमार कुमार खड्काले यो वर्षको बजेटमा पत्रकारका लागि केही नयाँ कार्यक्रम ल्याएको बताए । बजेटमा पत्रकारका लागि २ करोड भन्दा माथिको बजेट छुट्याएको उनको भनाई छ । पत्रकार महासंघको भवन नबनेका ६ वटा जिल्लामा भवन निर्माणका लागि ६० लाख बजेटको प्रस्ताव गरेको उनले जानकारी दिए ।
प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देलले श्रमजिवी पत्रकारको मनोवल बढाउने खालको कार्यक्रममा प्रदेश सरकारको साथ आवश्यक रहेको बताए । प्रेस स्वतन्त्रताका लागि अघिल्लो सरकारले भन्दा १० गुणा बढि काम गर्नुपर्ने उनको धारणा थियो । कार्यक्रममा युनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेलले मिडियाको अवस्था हेरेर उनीहरुको मर्म बुझ्नुपर्ने बताए ।
मिडिया विधेयकमा छलफल गरेर मिडियामैत्री बनाउनु पर्ने धारणा राखे । प्रेस युनियनका सल्लाकार गंगाधर पराजुलीले पत्रकार, मिडिया हाउस र महासंघलाई सक्षम र सदृढ बनाउदै लैजानुपर्ने बताए ।
प्रेस युनियन कास्कीका सल्लाहकार राजबहादुर गुरुङ, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता तिम्सिना पंगेनी, गंगाधर पराजुली, पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारी लगायतले आमसञ्चार प्रतिष्ठान, लोक कल्याणकारी विज्ञापन लगायतको विषयमा आ–आफ्नो भनाइ राखेका थिए ।

Advertisment