एनआरएनए क्यानाडाको सभापतिमा सम्राटकुमार र अध्यक्षमा दिपकदत्त निर्वाचित

पोखरा ३० साउन,

गैर–आवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाको सभापतिमा सम्राटकुमार थापा र अध्यक्षमा दिपकदत्त गौतम निर्वाचित भएका छन् ।

शनिवार क्यानाडाको अन्टारियो प्रान्तस्थित नायग्रा फल्समा सम्पन्न १४औं साधारण सभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । दुई साताअघि निर्वाचित १९ जना राष्ट्रिय समन्वय परिषद् (एनसिसी) सदस्य र पुरानो कार्यसमितिका पदाधिकारीहरुको उपश्थितिमा साधारण सभा सम्पन्न भएको हो । नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा सभापति पदमा क्याल्गेरीका सम्राटकुमार थापा र एडमण्टनका लक्ष्मण अधिकारीबीच प्रतिस्पर्धा भएको थियो । थापाले १४ मत ल्याउँदै निर्वाचित भए भने उनका प्रतिद्धन्द्धि अधिकारीले ५ मत प्राप्त गरे । त्यसैगरी अध्यक्षमा ब्राम्प्टनका दिपकदत्त गौतम र टोरन्टोका गोपालप्रसाद भण्डारीबीच प्रतिस्पर्धा भएको थियो । जसमा १४ मत प्राप्त गर्दै दिपक अध्यक्षमा विजयी भए भने गोपालले ५ मत प्राप्त गरेको प्रमुख निर्वाचन आयुक्त ज्ञानेन्द्र पोखरेलले जानकारी दिए । नयाँ कार्यसमितिको महासचिवमा अटवाका अनुप सुवेदी निर्वाचित भएका छन् । उनले क्युबेकका प्रमेश गुप्तालाई ५ मत अन्तरले जितेका हुन् । सुवेदी १२ मत प्राप्त गर्दै महासचिव बन्दा उनका प्रतिद्धन्द्धि गुप्ताले ७ मत प्राप्त गरे । त्यसैगरी सचिवमा स्कार्ब्रोका राजेन्द्र पोखरेल निर्वाचित भए । उनले १२ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी ब्रिटिश कोलम्बियाका राजु भट्टराईले ७ मत पाए । यस्तै, कोषाध्यक्षमा स्कार्ब्रोकै यामबहादुर खत्री निर्विरोध निर्वाचित भए । सर्वसम्मत निर्वाचित हुनेमा तीन उपाध्यक्ष क्रमशः टोरन्टोका शैलेन्द्र चापागाईं, वेष्र्टन अन्टारियोका दीपक सापकोटा र मनिटोवाका कृष्ण न्यौपाने छन् ।

यसै वर्ष देखि थपिएको महिला उपाध्यक्ष पदमा ब्राम्प्टनकी संगीता जिसी निर्विरोध निर्वाचत भइन् । युवा र महिला संयोजकको रिक्त पदमा नयाँ कार्यसमितिको आगामी बैठकले एनसिसी सदस्य मनोनित गर्दै पदाधिकारी नियुक्त गर्ने जनाइएको छ । साधारण सभाले एनआरएनएको अन्तराष्ट्र्रिय समन्वय परिषद (आइसिसी)मा क्यानाडाबाट प्रतिनिधित्व गर्न स्कार्ब्रोका शम्भु धमला र दुर्गाबहादुर अधिकारी, ब्राम्प्टनका सन्तराम भण्डारी र मिसिसागाका गिरीप्रसाद बुढाथोकी लाई चयन गरेको क्यानाडाबाट बसन्त कार्कीले जानकारी दिए । एडमण्टनका अर्जुन विश्वकर्माले उम्मेदवारी फिर्ता लिएपछि उल्लिखित चार प्रतिनिधि निर्विरोध चयन भएका हुन् । प्रति एक हजार सदस्य बराबर एक जना प्रतिनिधि चयन गर्न सक्ने प्रावधान अनुसार क्यानाडाबाट चार जना चुनिएका हुन् । एनआरएनए क्यानाडामा ४ हजा ७ सय ९८ जना सदस्य छन् ।

Advertisment