पत्रकारको तीज कार्यक्रममा गुनासो

पोखरा, २२ भदौ ।
नेपाल पत्रकार महासंघ कास्कीले तीज विशेष कार्यक्रम गरेको छ । महासंघ कास्कीले हरितालिका तीजको अवसरमा कास्कीमा क्रियाशिल पत्रकार महिलाहरुका विच शुभकामना आदानप्रदान गर्दै दर खुवाउने कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले सञ्चार क्षेत्रमा महिलाको सहभागिता भएपछि महिलाको मुद्दा बाहिर ल्याउन सहज हुने बताईन् । सरकारले महिलाको लागि कोटा निर्धारण गरेपनि भनेजति अझै सहभागिता नरहेकाले महिला पत्रकारलाई यस्ता विषयमा कलम चलाउन सुझाव दिईन् । महिला माथि धर्मका नाम भएका सुसंस्कार हटाउनुपर्ने आजको आवश्यकता रहेका कारण आफू त्यसैमा लागेको बताईन् । स्वास्थ्य क्षेत्रमा महिलाहरु पछि परेका कारण प्रदेश सरकारले महिलाको स्वास्थ्य सुरक्षाका लागि विविध कार्यक्रम ल्याएको उनको भनाई थियो । प्रदेशले पाठेघरको क्यान्सर भएकालाई निशुल्क उपचारदेखि शहिद, अपांग र बेपत्ताका परिवारलाई निशुल्क उपचारको प्रवन्ध मिलाएको उनले जानकारी दिईन् ।
पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले सबैलाई तीजको शुभकामना व्यक्त गर्दै महासंघले संस्कार र संस्कृति जगेर्ना गर्दै विभिन्न कार्यक्रम गर्दै आएकाले नारीहरुको शक्तिको प्रतिकका रुपमा कार्यक्रम आयोजना गरिएको बताईन् । कोरोनाले कैयन पत्रकार र सञ्चार माध्यम संकटमा परेको बेला प्रदेश सरकारले विशेष भूमिका खेल्नुपर्ने उनको भनाई थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा कास्कीका सबै सञ्चारकर्मीले कोरोनाको खोप लगाएका कारण मन्त्रालयलाई आभार व्यक्त गरिन् ।
नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता तिम्सिना पंगेनीले चाडपर्वको अवसरमा बाडिएको शुभकामनाले सबै दिदीबहिनीहरुमा कमल चलाउने आँट शाहस बटुल्न आग्रह गरिन् । सञ्चार क्षेत्रमा भएको दमन र सामाजिक हिंसाका विरुद्ध सधै डटेर लाग्न उनको सुझाव थियो । प्रेस काउन्सिलकी सदस्य दुर्गा भण्डारीले महिला पत्रकारहरु अझै मिडिया क्षेत्रमा खुलेर लाग्न नसकेको बताईन् । आफ्नो हक अधिकारका लागि पनि महिलाहरु यस क्षेत्रमा लाग्नुपर्ने उनको धारणा थियो ।
कार्यक्रम उत्कृष्ट नृत्य प्रस्तुत गरेकी रेडियो जननीकी देविका तामाङ र पोखरा टेलिभिजनकी मनिषा लामिछानेलाई उपहार प्रदान गरिएको थियो । उपहारको प्रायोजन रेजामार्ट प्रस्र्याङ र आरएसटी इम्पोरियम सिर्जनाचोकले गरेको थियो । महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले स्वागत र उपाध्यक्ष जमुना वर्षा शर्माले धन्यवाद दिएको कार्यक्रमको सञ्चालन सचिव माधव बरालले गरेका थिए ।

Advertisment