निर्मलपोखरीमा अक्सिजन कन्सलटेटर, सिलिण्डर हस्तान्तरण, समाज सेवामा रोटरी क्लव पोखराको भूमिका प्रशंसनिय : मन्त्री बिन्दु थापा

भदौ ३०, पोखरा । गण्डकी प्रदेश सरकारका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले समाज सेवामा रोटरी क्लव अफ पोखराको भूमिका प्रशंसनिय रहेको बताउनुभएको छ । नेपाली काँग्रेस पोखरा २१ ले निर्मलपोखरी स्वास्थ्य चौकीमा आयोजना गरेको अक्सिजन कन्सलटेटर र सिलिण्डर हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले रोटरी क्लवले स्वास्थ्य, शिक्षा र समाज विकासका कार्यमा अग्रसरता लिएको बताउनुभयो ।

मन्त्री थापाले निर्मलपोखरी र कृस्ती लगायतका ठाउँहरुमा विकास निर्माणका कामलाई गतिशिलता दिन आफ्नो पहलकदमी हुने बताउनुभयो । स्वास्थ्य चौकीको भौतिक स्तरउन्नतिलाई समेत सुधार गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्ने भनाई उहाँको छ ।

पोखरा २१ मा आवश्यकता अनुसार सहयोग गर्न आफु प्रतिबद्ध रहेको मन्त्री थापाले बताउनुभयो । निर्मलपोखरी र कृस्ती आर्थिक विकासका दृष्टिकोणले पनि सम्भावना बोकेको ठाउँ भएकाले त्यहाँको कृषि क्षेत्रलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकतालाई उहाँले औंल्याउनुभएको छ ।

मन्त्री थापाले प्रदेश सरकारले कृषि क्षेत्रमा लाग्ने र होमस्टे संचालन गर्नेहरुलाई अनुदान समेत दिइरहेकाले त्यसको लाभ लिन आग्रह गर्नुभयो । आन्तरिक तथा बाह्य पर्यटकका लागि निर्मलपोखरी र कृस्ती नयाँ गन्तव्य भएको उल्लेख गर्दै उहाँले पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
‘निर्मलपोखरी र कृस्ती पर्यटकका लागि समेत उत्कृष्ट ठाउँ हो । पोखराको भ्यू राम्रो देखिने भएकाले आन्तरिक बाह्य पर्यटकको आकर्षण बढ्दो छ । विस्तारै विकास निर्माणका कामले समेत गति लिइरहेको छ । आवश्यकताका आधारमा अरु पनि गर्दै जानेछौं ।’, उहाँले भन्नुभयो ।

मन्त्री थापाले वडासँग समन्वय गरेर प्रदेश सरकारले पोखरा २१ को समृद्धिका लागि काम गर्ने बताउनुभयो ।

कार्यक्रममा रोटरी क्लव अफ पोखराका अध्यक्ष निर्मल कर्माचार्यले आफुहरुले अहिले कास्कीका ग्रामीण भेगमा रहेका स्वास्थ्यचौकीहरुमा अक्सिजन कन्सलटेटर र सिलिण्डर सहयोग गरिरहेको जानकारी गराउनुभयो । कमाचार्यले राजनीति गर्ने नेताहरुमा समाज सेवाको भावना समेत जाग्नुपर्ने उल्लेख गर्नुभयो । रोटरी क्लवले मंगलबार पोखरा १६ जोगीमणि स्थित अर्मला स्वास्थ्यचौकीलाई समेत अक्सिजन कन्सलटेटर र सिलिण्डर उपलब्ध गराएको छ ।

Advertisment