मन्त्री खड्काको कास्की जिल्ला अदालत अवलाेकन

असाेज १८, पाेखरा । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले कास्की जिल्ला अदालत अवलाेकन गरेका छन ।
सोमवार मन्त्री खड्काले पोखराको वैदाममा रहेको कास्की जिल्ला अदालतको भित्री र बाहिरी संरचनाको अवलोकन गरे ।
अवलाेकनका क्रममा आफू अदालतमा पहिलो पटक प्रवेश गरेको र कास्की जस्तो सुगम जिल्लामा पनि अदालतको भौतिक संरचना दयानीय अवस्थामा रहेको उनले बताए ।
यसै क्रममा पानी चुहिएर मिसिल भिज्ने अवस्था रहेकोले भौतिक पुर्वाधार मर्मत अन्तरगत तुरून्तै पहल गर्ने उनले बताए । अदालत भवनको पूर्वतिर पिर्केखोलाले गरेको कटान पनि मन्त्रीले अवलोकन गरे ।
मन्त्री खड्कालाइ स्वागत गर्दै जिल्लाका प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराईले अदालतको वस्तुस्थितिका बारेमा जानकारी गराए । “वर्षेनी मुद्दाको संख्या बढदै जादा न्यायधीशको दरबन्दी थपिने तर भौतिक अवस्था उस्तै छ ।” उनले भने, पचास वर्ष पहिला बनेको जिर्ण अवस्थाको भवनबाट हाल ७ वटा इजलाशबाट सेवा प्रभाह भइ रहेको छ । पर्यटकीय क्षेत्र पोखराको वैदाममा रहेको जिल्ला अदालतबाट विदेशी सेवाग्राही समेत सेवा लिन आउने बताउदै “पार्किङ्ग स्थलको अभाव , मेलमिलापका लागि मेलमिलाप कक्षको अभाव, प्रशासनिक कक्षको अभाव , फर्निचरको अभाव, कम्प्युटरको अभाव जस्ता अभावै अभाव रहेकाले कार्यसम्पादनमा कठिन छ, अपाङ्गमैत्रीको त कुरै छैन”, उनले जानकारी गराए ।
यसै अवस्थामा नयाँ भवन बनाउनका लागि अर्थ मन्त्रालयबाट २ करोड विनियोजन भएको र जग्गा प्राप्ति भएमा थप बजेट निकासा गराउन सकिने उनले जानकारी गराए ।
आधुनिक संरचना बनाउनका लागि अहिले भैरहेको जग्गा अपुग हुने भएकाले जग्गाको खोजी भइरहेको उनको भनाइ थियो । यसका लागि वरिष्ठ अधिवक्ता कृष्ण थापाको संयोजकत्वमा समिति पनि गठन भइसकेको छ । पोखरा उपत्यका नगर विकास समितिसँग जग्गाका लागि आग्रह गरिए पनि हालसम्म खासै उपलब्धि हुन नसकेको न्यायाधीश भट्टराईले बताए । जग्गा प्राप्तिका लागि प्रदेश सरकारले पहल गरिदिन समेत उनले मन्त्रीसँग आग्रह गरे ।
२४ वटा इजलाश रहने गरी अन्डरग्राउन्डसहित ६ तलाको भवन बनाउने योजना सुनाउदै उनले भने, ‘ पचास वर्ष पहिलाको भवनले अहिलेसम्म धानेको छ । अब बनाउने भवनले कम्तीमा ५० वर्ष धानोस् भन्ने हाम्रो चाहाना हो ।’
मन्त्री खड्कालाई कास्की जिल्ला अदालतमा जिल्ला न्यायाधीशहरु, श्रेस्तेदार सहित अदालतका कर्मचारीले स्वागत गरेका थिए ।

Advertisment