सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ शुरु

काठमाडौं, कात्तिक ३० गते । सर्वोच्च अदालतमा आज बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा सुनुवाइ भएको छ । मंगलबार न्यायाधीशद्वय कुमार रेग्मी र तेजबहादुर केसीको संयुक्त इजलासमा बन्दी प्रत्यक्षकरणबाहेकका मुद्दामा पनि सुनुवाइ शुरु भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि सबै प्रकृतिका मुद्दामा पेशी तोक्नुभएको छ । उहाँले आठ संयुक्त र दुई एकल इजलास तोक्नुभएको हो । यद्यपी, प्रधानन्यायाधीश जबराले आज आफ्नो लागि भने कुनै इजलास तोक्नुभएको छैन ।

यसैगरी, न्यायाधीश मीरा खड्का र विश्वम्भरप्रसाद श्रेष्ठले एउटा बन्दी प्रत्यक्षीकरण र चार वटा बैंकिङ कसुरसम्बन्धी मुद्दाको रिटमा सुनुवाइ गर्नुभएको छ भने अन्य मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राख्नुभएको छ ।

त्यस्तै न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको संयुक्त इजलासले पनि चारवटा मुद्दाको रिटमा सुनुवाइ गरेको छ । अन्य मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएकाे सर्वोच्चले जनाएको छ ।

Advertisment