मुख्यमन्त्री पोखरेल कांग्रेस केन्द्रमा उम्मेदवारी दिंदैं

काठमाडौं, २३ मंसिर ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय समितिको १० औं पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै पार्टीको चौंधौं महाधिवेशनमा उनले उम्मेदवारी दिने घोषणा गरेका हुन् । बिपीको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउन फेरि १ पटक केन्द्रीय समितिमा रहेर काम गर्न चाहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो । उनी १२ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन् ।
सहमहामन्त्रीमा चर्चा चले पनि अन्ततः उनले केन्द्रीय सदस्यमै उम्मेदवारी दिने भएका हुन् । युवापुस्तालाई पार्टीको नेतृत्वमा पु¥याउनका लागि सहमहामन्त्रीमा उनीहरुलाई अवसर दिनकै लागि आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको पोखरेलको भनाइ थियो । मुलुकलाई अप्ठेरो परेका बेला निकास दिने नेपाली कांग्रेस नै भएकाले अबका चुनावमा प्रष्ट बहुमत ल्याउनका लागि त्यसै अनुसारको तयारी गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।
कार्यक्रममा मुख्यमन्त्री पोखरेलले जेठ २९ गते गठन भएको आफू नेतृत्वको सरकारले हतारमा बजेट ल्याउनु परे पनि नागरिकले अनुभूति गर्ने गरी काम गरेको दाबी गरे । उनले भने, ‘६ महिनामै चमत्कार भयो भनेर म भन्दिनँ तर पनि केही उदाहरणीय काम गरेका छौं ।’
महिलाका लागि स्तन र पाठेघरको क्यान्सरको निशुल्क उपचार, प्रदेशलाई सडक मानवमुक्त घोषणा, कोरोनाले अभिभावक गुमाएका बालबालिकालाई शिक्षाका लागि मासिक ५ हजार रुपैयाँ प्रदान लगायतका लोकप्रिय काम पोखरेल नेतृत्वको सरकारले यो अवधिमा गरेको छ ।
कोरोनाबाट ज्यान गुमाउनेका परिवारलाई ५० हजार रुपैयाँ, साना व्यवसायीका लागि व्यवसाय जीवन रक्षा कोषलाई निरन्तरता दिइएको उनले बताए । प्रदेशलाई पूर्ण साक्ष घोषणा, शिक्षा र स्वास्थ्य नीति घोषणा पनि यही अवधिमा गरिएको छ । अब प्रदेशमा १८ वर्षभन्दा माथिको उमेरका सबैजसोले कोरानाविरुद्धको खोप लगाइसकेको भन्दै अब नयाँ भेरियन्टबाट बच्नका लागि समेत सतर्कता अपनाइएको उनको दाबी छ । कोरोनाको उपचार र रोकथामका लागि स्वास्थ्य मन्त्रालयले थप जनशक्ति नियुक्तिका लागि प्रक्रिया थालेको जानकारी उनले गराए ।
गण्डकीको पर्यटन प्रबद्र्धनका लागि समेत प्रदेश सरकारले महत्वपूर्ण कार्य गरेको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु रावतलाई गण्डकीमा स्वागत, ११ देशका राजदूतलाई पोखरा बोलाएर आतिथ्यता प्रदान गरेपछि पोखरा सुरक्षित छ भन्ने सन्देश प्रवाह भएको पनि उनले बताए ।
साथमा मुख्यमन्त्रीको प्रोफाइल पनि छ
अनुभवले खारिएका कृष्णचन्द्र
काठमाडौं । नागरिक स्वतन्त्रताका लागि जीवन समर्पित गरेका व्यक्तिहरुमा त्यागको भावना असामान्य हुने गर्दछ । व्यक्तिगत स्वार्थबाट माथि उठेर मातृभूमि र जनताका मुक्तिका लागि संघर्ष गर्ने निर्णय गर्नु चानेचुने विषय होइन । त्यो पनि राणाकालको कठोर र बर्बर शासन व्यवस्थामा जीवनलाई हत्केलामा राखेर लडेका व्यक्तिको त्यागले आजको स्वतन्त्रता प्राप्त भएको हो । नागरिक स्वतन्त्रताका लागि लड्ने पुस्ताले स्वतन्त्रतासँग जीवन साटेका थिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल राणाशासनका विरुद्ध मातृभूमिको मुक्ति र नागरिक स्वतन्त्रताका लागि संघर्ष गरेका गोवर्धन शर्मा पोखरेलका माइला सुपुत्र हुनुहुन्छ ।
उहाँको पूरै परिवार राजनीतिमा समर्पित थियो । सशस्त्र संघर्षबाट देशलाई राणाहरुको चंगुलबाट मुक्त गराउन, प्रजातन्त्रको जग बलियो बनाउन, पञ्चायती निरंकुशताको अन्त्य गर्न गोवर्धन पोख्रेल निरन्तर लाग्नु भयो । नेपाली कांग्रेसको सिद्धान्तबाट दिक्षित उहाँ देशकै कर्मशील, जुझारु र सशक्त नेता हुनुहुन्थ्यो ।
त्यस्ता पिताका सुपुत्र कृष्णचन्द्र नेपालीको जीवन पनि लोकतान्त्रिक आन्दोलनको अविरल, संघर्षपूर्ण र गौरवशाली यात्राको रुपमा स्थापित भएको छ । जनताको दुखलाई नै आफ्नो दुख र प्रजातन्त्रलाई जीवनशैली ठान्ने कृष्णचन्द्र नेपालीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदान अतुलनीय छ ।
२००५ जेठ ५ मा तनहुँको राम्चेमा जन्मनु भएका पोखरेल बाल्यकालदेखि राजनीतिबाट दिक्षित हुनुभयो । राजनीति उहाँ र उहाँको परिवारको अभिन्न अंग बन्यो । पूरै परिवार प्रजातन्त्रको आन्दोलनमा होमियो । पिता देश निकाला भएका समयमा भारतमा निर्वासित भै बिएसम्मको शिक्षा भारतबाट हासिल गर्नुभयो । काभ्रे र तनहुँका विभिन्न विद्यालयमा शिक्षण गर्दा उहाँले प्रजातन्त्र प्राप्तिको आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण भमिका निर्वाह गर्नुभयो । पञ्चायतको निरन्तरको दमन भौतिक कारवाही सहदै जस्तोसुकै दुर्गममा सरुवा गर्दा होस् वा जस्तोसुकै कारवाही गर्दा होस उहाँले कुनै सम्झौता गर्नुभएन ।
बुवा गोवद्र्धन शर्माको राजनीतिक पृष्ठभूमिको प्रभाव आमा द्रौपदा शर्मामा पनि परेकै थियो । आमाबाट कृष्णचन्द्र नेपालीले मातृवात्सल्य मात्र पाएनन् राजनीतिक संस्कार समेत सिके । श्रीमती लता पोखरेलको पनि उहाँको सफलता र यहाँ सम्मको राजनीतिक उचाइ प्राप्तिमा महत्वपूर्ण भूमिका रहेको छ । उहाँका २ छोरा दुई छोरी गरी ४ चार सन्तान छन् ।
उहाँको जेठा दाजु रामचन्द्र पोखरेल संविधानसभा सदस्य हुनु हुन्छ । जिल्ला विकास समिति तनहुँ पूर्व सभापति भइक्नुभएका रामचन्द्रले नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा लामै समय मुख्य सचिवको जिम्मेवारी पनि पाउनुभयो । साइँला भाइ डा. जगदीशचन्द्र पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुनुहुन्छ भने कान्छा भाइ सुवासचन्द्र अमेरिका बस्नुहुन्छ । २ बहिनी सत्यम्वदा र प्रियम्वदा हुनुहुन्छ ।
प्रारम्भिक शिक्षा तनहुँको धरमपानीको स्थानीय विद्यालयमै भएको थियो । त्यसपछि उहाँ माध्यमिक शिक्षाका लागि भारत पुग्नुभयो । माध्यमिक शिक्षा विहारको नरकटियागन्जबाट पूरा गरेका कृष्णचन्द्र नेपाली दरभंगाबाट मानविकीमा स्नातक गरेर नेपाल फर्किनु भयो । उहाँको पढ्ने रहर त्यतिमै सीमित रहेन कानुनमा पनि दख्खल राख्नुपर्छ भनेर उनले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गर्नुभयो ।
२०३९ सालमा प्रजातन्त्र प्राप्तिको आन्दोलनलाई थप सशक्त बनाउनका लागि नवलपरासी बसाइँ सर्नुभयो । हाल उहाँको स्थायी बसोवास गैंडाकोट नगरपालिका १ मा छ ।
प्रजातन्त्रका लागि संघर्ष गरेका व्यत्तिहरुलाई पञ्चायत सरकारले झुठा अभियोगमा फसाउन थालेपछि शिक्षण पेशा छाडेर उहाँ जनपक्षीय वकिलकारुपमा काम गर्न थाल्नुभयो ।
संघीयता कार्यान्वयनपछिको पहिलो चुनाव २०७४ मा उहाँ प्रदेश सभा सदस्यका लागि पूर्वी नवलपरासी १ (क) बाट उठ्नुभएको हो । एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी पोखरेल गण्डकी प्रदेश सभा सदस्य बन्न सफल हुनुभयो ।
गण्डकी प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी काँग्रेसका १५ सांसद छन् । एमाले माओवादी गठबन्धनको बहुमत आएसँगै काँग्रेस संख्याका आधारमा प्रमुख प्रतिपक्षी दल बन्यो । प्रमुख प्रतिपक्षी संसदीय दलको नेतामा चुनिनुभयो कृष्णचन्द्र नेपाली पोखरेल ।
प्रदेश सभाका कामकारबाही चुस्त बनाउन र प्रदेश सरकारलाई जिम्मेवार बनाउन प्रतिपक्षी दलका नेताका हैसियतमा उहाँ हरसमय क्रियाशील रहनुभयो ।
प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण पिता गोवद्र्धन शर्मा पोखरेल निर्वासित जीवन बिताउनु भएको थियो । त्यति नै बेला अर्थात् २०२२ देखि २०२८ सालसम्म उहाँले पनि पिताकै साथमा भारतमा निर्वासित जीवन बिताउनु भएको थियो ।
राजनीतिमा मात्र होइन कृष्णचन्द्र नेपाली पोखरेल लामो समय शिक्षण पेसामा समेत क्रियाशील रहनु भयो । काभ्रे र तनहुँका स्कुलमा उहाँले लामै समय पढाउनु भयो । २०३६ सालको जनमतसंग्रहमा बहुदलको प्रचारमा सक्रिय हुनुहुन्थ्यो । जनमत संंग्रहमा काँग्रेसको पक्षमा लागेर हिँडेकै आरोपमा उहाँलाई तत्कालीन सरकारले जुम्ला सरुवा गरिदियो । त्यसपछि उहाँ शिक्षण पेसा छाडेर पूर्णकालीन राजनीतिमा संलग्न रहनु भयो ।
प्रजातान्त्रिक आन्दोलनकै क्रममा उहाँ ६ पटक जेल पर्नु भएको छ ।
२०४८ को अधिवेशनपछि उहाँ निरन्तर ४ कार्यकाल काँग्रेस नवलपरासीको सभापति रहनु भयो । २०४८ सालको आमनिर्वाचनमा उहाँ नवलपरासी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार हुनुहुन्थ्यो । २०६२÷ ६३ सालको जनआन्दोलनमा उहाँले नवलपुरको कमान्ड सम्हाल्नुभयो । त्यो बेला पनि पनि उहाँ जेल पर्नु भयो ।
१२ औँ महाधिवेशनबाट उहाँ नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।
पोखरेल परिवर्तित राजनीतिक परिवेशसँग २०७८ जेठ २९ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

Advertisment