नेपाली समाजको विविधता विश्वका लागि पूँजी — प्रदेश प्रमुख गुरुङ

गण्डकी, १३ पुस, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालका विभिन्न जातजाति, भाषाभाषी बीचको विविधता देशका लागि मात्र नभै समग्र विश्वका लागि पूँजी भएको बताउनुभएको छ ।

तमु ल्होसार २०७८ का अवसरमा गण्डकी प्रदेश प्रमुखको कार्यालयद्वारा आज प्रदेश प्रमुखको सरकारी निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नेपाल बहुजातीय बहुभाषिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको बताउनुभयो ।

जातजातिका भाषा, संस्कृति देशका मौलिक सम्पत्ति भएको उल्लेख गर्दै प्रदेश प्रमुख गुरुङले यिनीहरूको जगेर्ना राज्यको दायित्व भएको बताउनुभयो ।
देशमा समावेशी लोकतान्त्रिक संविधान बनेको बताउँदै उहाँले ल्होसार पर्र्वले राष्ट्रमा समाजिक न्याय सहितको समृद्धि हासिल गर्न प्रेरणा मिल्ने बताउनुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लामो समयदेखिको एकात्मक व्यवस्थाले राष्ट्रियताको संकुचित परिभाषा गरेको बताउँदै २०६२÷०६३ को जनआन्दोलन पश्चात सबै जाताजाति, भाषभाषी एवम् संस्कृतिबीचको एकतालाई राष्ट्रियताका रुपमा लिइएको धारणा राख्नुभयो । नेपाली विविधताबीच सबैले सामुहिक समर्पणको भावना सिर्जना गर्नुपर्ने बताउँदै उहाँले ल्होसार पर्वले सबैलाई एकतावद्ध हुन प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सबै जातजाति, भाषभाषी र संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश प्रमुख सचिव हरिप्रसाद बास्तोलाले ल्होसार पर्वले सबैमा सुख शान्ति र समृद्धि ल्याउने कामना गर्नुभयो ।

तमु धी नेपालका अध्यक्ष हुमबहादुर तमुले तमु समूदायको नयाँ वर्षका रुपमा ल्होसार मनाइने बताउँदै गाई वर्गको विदाई र बाघ वर्गको आगमनका रुपमा यस वर्ष ल्होसार मनाउन लागिएको जानकारी दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, संबैधानिक निकायका प्रमुखहरू, सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ सरकारी अधिकारी, सञ्चारकर्मीको उपस्थिति थियो ।

Advertisment