सडक दुर्घाट्ना कम गर्न कर्णाली प्रदेश ट्राफिकको ‘लभ थर्टी’ अभियान शुरु

पोखरा, २४ पौष,

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आवासीय क्षेत्रमा गति सीमित गर्न ‘लभ थर्टी’ लगायतका योजना अघि सारेको छ ।

भौगोलिक दृष्टिले विकट मानिने कर्णाली प्रदेशका अधिकांश जिल्लाहरुमा भौगोलिक विकटताकै कारण वर्षेनि दुर्घटनाका घटना बढिरहेका र यसको न्युनिकरणका लागि लभ थर्टी, स्ट्रिटस फर लाइफ र सेभ किड्स लाइफ जस्ता अभियान अघि बढाएको कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एवम प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीले जानकारी दिए । करिब एक महिनाअघि मात्र कार्यालय प्रमुखको रुपमा सरुवा भएका उपरिक्षक तिवारीले शहरी तथा विकट ग्रामीण क्षेत्रका लागि छुट्टाछु्ट्टै योजना बनाएर अघि बढेको र विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी, सेना, सशस्त्र प्रहरी, पालिका, यातायात व्यवस्था कार्यालय, सडक डिभिजन, जनस्वास्थ्य सेवा कार्यालय,सामुदायिक प्रहरी सेवा केन्द्र, जनप्रतिनिधि र यातायात व्यवसायी लगायतको उपस्थितिमा सडक दुर्घटना न्यूनीकरणका लागि छलफल गर्दै कार्ययोजना तय गर्न लागिएको जानकारी दिए । हालसम्म मुगु, जुम्ला, कालिकोट, दैलेख र सुर्खेतका प्रमुख जिल्ला अधिकारीहरुको समन्वयमा जिल्ला स्थित सरोकारवालाहरुको वैठक भई जिल्लाको ट्राफिक व्यवस्थापन कार्ययोजना तयारपारी कार्यान्वयनको चरणमा रहेका छन्।

उनका अनुसार ‘लभ थर्टी’ विशेषगरी मानवबस्ती भएको क्षेत्रमा लागू गरिने योजना हो । यस योजनाअनुसार त्यस्तो क्षेत्रमा ३० को भन्दा बढी गतिमा सवारीसाधन चलाउन पाइने छैन । यसो गर्दा सवारीसाधन दुर्घटना न्यून हुने, दुर्घटना भइहाले पनि मृत्यु हुने सम्भावना ९० प्रतिशत कम हुने र सामान्य घाइते मात्र हुने एसपी तिवारीको भनाइ छ । यस्तै, पैदलयात्रीदेखि केटाकेटी, किशोरकिशोरीको सुरक्षाका लागि पनि स्ट्रिट फर लाइफ र सेभ किड्स लाइभ्स जस्तो कार्यक्रमहरु ल्याइएको उनको भनाइ छ । केही महिना अघि मात्र मुगु जिल्लामा भएको यात्रु बस दुर्घटनामा ३२ जनाले ज्यान गुमाउनु परेको थियो। विश्वमा प्रत्येक २४ सेकेण्डमा एक जना मानिसले सडक दुर्घटनाका कारण ज्यान गुमाउनु परेको छ। ‘विश्वमै मानिसहरुको मृत्यु हुने कारणहरुमा सडक दुर्घटना चौंथो नम्बरमा आउँछ भने ५(२९ बर्ष उमेर समुहको मृत्युको प्रमुख कारण हो। त्यसमाथि गरिब देशहरु जहाँ सवारीसाधनको चाप तुलनात्मक रुपमा कम हुन्छ, ती देशहरुमा अझ दुर्घटना धेरै भइरहेको राष्ट्रसंघको प्रतिवेदनले उल्लेख गरेको छ । त्यस प्रतिवेदनअनुसार दक्षिण एसियाली मुलुकहरुमा यस्तो संख्या धेरै छ,’ तिवारीले भने, ‘नेपालमा पनि सडक दुर्घटनाका कारण थुप्रै व्यक्तिहरुले अकालमा नै ज्यान गुमाउनु परिरहेको छ । कर्णाली प्रदेश दुर्घटना धेरै हुने क्षेत्र हो । यहाँका सडकदेखि अन्य संरचना, पुराना सवारी साधन, तिव्र गति, मादक पदार्थ एवम् लागु पदार्थको सेवन गरी सवारी हाँक्ने, मौसम,सचेतनाको अभाव लगायत कारणले यस्ता दुर्घटनाहरु बढिरहेका छन् । खासगरी यो प्रदेशका विकट भौगोलिक क्षेत्रमा यात्रुबाहक सवारी साधन दुर्घटना भई एकैपटक धेरै जनाको ज्यान जाने त्रास सधैं रहेको हुन्छ। त्यसैलाई न्यूनीकरणका लागि मेरो कार्यकालको सुरुवातदेखि नै हामीले विभिन्न योजना, छलफल, सचेतना कार्यक्रम, जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ट्राफिक व्यवस्थापन कार्ययोजनाहरु बनाएर दुर्घटना रोक्न खटिएको छौं ।’ दुर्घटना न्यूनीकरणका लागि ‘रिसर्च’ को भूमिका पनि महत्वपूर्ण हुने उनको भनाइ छ । ‘हाम्रोमा रिसर्च गर्ने र दुर्घटना रोक्ने उपयुक्त कारणहरु खोज्ने काम खासै हुन सकेको छैन । परम्परागत शैलीमा अघि बढिएको छ । तर, हामीले यसको रिसर्चको पाटोमा पनि ध्यान दिने योजना बनाएको छौं,’ उनले भने ।

उनले मध्यपश्चिम विश्वविद्यालय र ट्राफिक प्रहरीले संयुक्तरुपमा बहुआयामिक अध्ययन अनुसन्धान गर्नुका साथै ट्राफिक व्यवस्थापनको वर्तमान अवस्थामा सुधार ल्याउने विषयमा विद्यार्थीहरुलाई अध्ययन अनुसन्धानका लागि वातावरण तय गर्न प्रारम्भिक छलफल भएको जानकारी दिए । उनले मादक पदार्थ एवम् लागुऔषध सेवन गरी सवारीसाधन चलाए जरिवाना सहित प्रशिक्षण समेत दिइने योजना सुरु गरिएको बताए । मादक पदार्थ सेवनमा कारर्बाहीमा परेका ३० जना चालकहरुबाट यो कार्यक्रम सुरु गरिएको उनले जनाए । यस्ता कार्यक्रम प्रदेशभर गर्ने उपरिक्षक तिवारीको भनाइ छ । गति व्यवस्थापन, सडक सुरक्षामा नेतृत्व, सडक संरचना डिजाईन र सुधार, सुरक्षित सवारी साधन, ट्राफिक नियम एवम् कानुन कार्यान्वयन, दुर्घटना उद्धारमा सक्रियता लगायतका सडक सुरक्षाका रणनीतिहरु अवलम्वन गरी ट्राफिक व्यवस्थापनलाई चुस्त पारिने उपरिक्षक तिवारीले योजना रहेको छ।

कर्णाली प्रदेश आन्तरीक सुरक्षा तथा कानुन मन्त्रालयसँगको समन्वयमा ट्राफिक संरचना एवम सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पनि उपरीक्षक तिवारीले जानकारी दिएका छन्। कर्णाली प्रदेशका माननीय मुख्यमन्त्रीसँग पनि भेटी यस प्रदेशको दिगो ट्राफिक व्यवस्थापनका बिषयमा जानकारी गराएको उपरिक्षक तिवारीले जनाएका छन् । प्रदेशका दशवटा जिल्ला ट्राफिक प्रहरी प्रमुखहरुसँग साप्ताहिक रुपमा भिडियो कन्फरेन्स गरी जिल्लाको कार्यप्रगति विवरण लिने र आवश्यक निर्देशन दिने गरिएको छ । जिल्लाको ट्राफिक व्यवस्थापनका लागि आवश्यक पर्ने स्रोतसाधनहरुको लागि पनि तालुक कार्यालय र अन्य निकायहरुसँग समन्वय गरिएको छ । चालक र यात्रुसँग एक मिनेट, विद्यार्थी सचेतना कार्यक्रम, मादक पदार्थ गरी सवारी चलाउने लाई लक्षित गरी सचेतना कार्यक्रम, नयाँ सवारी चालक अनुमति पत्र प्राप्त गर्नेलाई लक्षित गरी सचेतना कार्यक्रम, चालक। सहचालकहरुका लागि सचेतना कार्यक्रम विद्यालय सचेतना कार्यक्रम लगायतका कार्यक्रमलाई तिव्रता दिने पनि उपरीक्षक तिवारीले जानकारी दिएका छन् । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले यि विविध कार्यक्रमका माध्यामले सबैको साथ सहयोग लिई सवारी दुर्घटना आधा कम गर्ने लक्ष्य लिएको छ। चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको ५ महिनामा १६८ वटा सवारी दुर्घटना भइसकेका छन्, जसमा परी १०८ जनाको मृत्यु भएको छ भने २०१ जना गम्भीर घाइते भएका छन् । २३५ जना सामान्य घाइते भएको कर्णाली ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा २९१ वटा सवारी दुर्घटनामा ९८ जनाको मृत्यु १६९ जना गम्भीर घाइते र ३१९ जना सामान्य घाइते भएका थिए । आर्थिक वर्ष २०७६/७७ मा कर्णालीमा २३६ वटा सवारी दुर्घटनाका घटना भएका थिए । त्यसमा ९७ जनाको मृत्यु १७९ जना गम्भीर घाइते र २९३ जना सामान्य घाइते भएका थिए । आर्थिक वर्ष २०७५/७६ भने कर्णालीमा १४६ वटा सवारी सदुर्घटना भएका थिए, जसमा ११९ जनाले ज्यान गुमाएका थिए भने १३१ जना गम्भीर घाइते भएका थिए । १६० जना सामान्य घाइते भएका थिए ।

Advertisment