गठबन्धनका शीर्ष नेताहरुबीच बालुवाटारमा निर्वाचन केन्द्रित वार्ता !

काठमाडौं, चैत ८ गते । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । मङ्गलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेताबीच स्थानीय निर्वाचन केन्द्रित समसायिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बताउनुभयो ।
बिहान करिब एक घण्टा निर्वाचन लगायतका विषयमा छलफल भएको उहाँले बताउनुभयो । यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले छलफलमा प्रचण्डले द्वन्द्वकालीन समयका घाइते, अपाङ्ग योद्धाहरुको विषयमा प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराउनुभएको बताउनुभयो ।
अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरवलोकन कार्यविधि–२०७४ संशोधन, कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गताको सूचीकृत गर्ने विषय, गणतान्त्रिक सेनानीको परिचयपत्र र सम्मानपत्र, परिवारलाई मासिक जीवन निर्वाह भत्ता लगायतका विभिन्न बुँदामा ध्यानाकर्षण गराइएको उहाँको भनाइ छ ।

Advertisment