एमाले मादीको घोषणापत्रः केबलकार चलाउन अध्ययन देखि रोपवे सम्म

पोखरा, १९ वैशाख

नेकपा (एमाले) मादी गाउँपालिका, कास्कीले चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।

पर्यटकीय पूर्वाधार निर्माणलाई जोड दिएर एमाले पालिका कमिटीले चुनाव जितेमा ५ वर्षभित्र गर्ने कार्ययोजना सोमबार सार्वजनिक गरेको हो । मादीमा एमालेबाट प्रमुखमा शिवबहादुर गुरुङ (महेन्द्र) र उपप्रमुखमा कल्पना गुरुङ उमेद्वार छन् । सम्भाव्यता अध्ययन भइसकेको भुलकुच्चा–कोरीको केबलकार निर्माण कार्य निजी क्षेत्रसँग मिलेर अघि बढाउने एमालेको घोषणापत्रमा उल्लेख छ । कपुचे–कोरी केबलकार, कोरी–माद्रे हिमाल–पिसाङ केबलकार र वार्चोक लम्तरी केबलकार बनाउन सम्भाव्यता अध्ययन गरिने घोषणा एमालेले गरेको छ । ताङतिङ पोलकोडाँडा–सिक्लेस पार्चेडाँडासम्म रोपवे सम्भाव्यता अध्ययन गरिने पत्रमा उल्लेख छ ।
मादीलाई आवश्यक पूर्वाधारका लागि प्रदेश र संघ सरकारसँग सहकार्य गर्ने एमालेबाट अध्यक्ष उमेद्वार रहेका महेन्द्रले बताउँछन् । संघ, प्रदेश र पालिकामा नेकपा एमालेका विकास योजना र जनमैत्री काम देखेर अरु पार्टीका नेता–कार्यकर्ता पनि एमाले आउन चाहिरहेको उनको भनाई छ । ‘मादीमा ३ दिनसम्म घरदैलो गर्दा कांग्रेस, माओवादीका साथी हाम्रोमा आउनुभयो ।’ उनले भने, ‘ती पार्टीमा अब नेतामात्रै रहन्छन् । अरु पार्टीमा भएका कति साथीले नेकपा एमाले खोजेका छन् । घर–घरले नेकपा एमाले खोजेको छ ।’ मध्यपहाडी लोकमार्गको भैंसे, बेत्यानी, ज्याउँदु, मेलबोट, पानीघाट हुँदै पोखरा २० मौजा जोड्ने सडक, सिक्लेस–पोखरा सडकखण्डको बाँकी खण्डसहित पालिकाका मुख्य सडक कालोपत्रे गर्ने घोषणापत्रमा उल्लेख छ । १८ ठाउँमा मोटरेबल पुल र कल्भट निर्माण र ४ वटा झोलुंगे पुल बनाउन प्रतिबद्धता एमालेको छ । एक घर, एक धारा अभियानलाई निरन्तरता दिने, हरेक सडक र बस्तीको ढल उचित निकास गर्ने घोषणापत्रमा उल्लेख छ । विद्युत नपुगेका टोल र वस्तीमा विद्युत सेवा पु¥याई ‘उज्यालो पालिका’ बनाउने घोषणा गरिएको छ । मादी ३ याङ्जाकोटमा रहेको गाउँपालिका कार्यालय सार्ने निर्णयविरुद्ध स्थानीय अदालत पुगेका थिए । यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । एमालेले गाउँपालिका केन्द्र निर्धारण गरेर प्रशासनिक भवन बनाउने प्रतिवद्धता जनाएको छ । बहुउद्देशीय भवन, गाउँपालिकाको आफ्नै अतिथि भवन निर्माण र प्रहरी भवन निर्माण गरिने एमालेले बताएको छ । ‘पालिकास्तरमा एक प्रहरी भवन निर्माण गर्नुका साथै भगवतीटार, छाचोक र सिक्लेसमा प्रहरी भवन निर्माण गरिने छ ।’ घोषणपत्रमा भनिएको छ, ‘भूकम्पबाट क्षति भई निर्माण सम्पन्न हुन बाँकी संरचनाको पुनःनिर्माण गरिने छ ।’

Advertisment