बुद्ध मण्डलाको स्थापनाले पर्यटकीय र रोजगारी क्षेत्रमा टेवा : मन्त्री थापा


पोखरा । असार ३०
गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले धर्मकाया बुद्ध मण्डलाको स्थापनाले पर्यटकीय र रोजगारी क्षेत्रमा टेवा पुग्ने विश्वास लिएका छन् । पोखरा ११ काहुँमा बन्न लागेको बुद्ध मण्डला निर्माणाधिन क्षेत्रको अवलोकन पश्चात आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले मण्डला निर्माणका लागि अहिले ७० लाख विनियोजन गरिएको जानकारी उनले गराए ।
‘पोखराको नयाँ पर्यटकीय गन्तव्य हो काहुँको बुद्ध मण्डला । केही प्राविधिक समस्याका कारण उक्त योजना अगाडि बढ्न सकिरहेको अवस्था छैन । समस्या अवश्य छन् । तर उक्त समस्यालाई समाधान गर्दै यथाशिघ्र बुद्ध मण्डला निर्माण कार्यलाई अगाडि बढाउनुपर्ने आवश्यकता । जसका लागि प्रदेश सरकारबाट आगामी आर्थिक वर्षका लागि ७० लाख रुपैयाँ विनियोजन गरिएको छ ।’, उनले भने ।
मन्त्री थापाले बुद्ध मण्डला पूर्वाधार विकास शिर्षकमा ५० लाख र धर्मगाया बुद्ध मण्डला शिर्षकमा २० लाख गरि ७० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी गराए । उनले स्थानीय, प्रदेश र संघ सरकारको समन्वयमा नै उक्त आयोजना पूर्ण हुन सक्ने धारणा राखे ।
पोखरा ११ लाई समृद्ध बनाउन आफ्नो तर्फबाट पहलकदमी गरिरहने प्रतिबद्धता उनको थियो । काहुँको पर्यटकीय विकासले सो क्षेत्रमा रोजगारी समेत सिर्जना हुने भएकाले बुद्ध मण्डलाको स्थापनामा ढिलाई गर्न नहुने भनाई उनको थियो ।
काहुँ कृषिको पकेट क्षेत्र भएकाले कृषिका क्षेत्रमा भएका समस्यालाई सम्बोधन गर्दै अगाडि बढ्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।
पोखरा महानगरपालिका वडा नं ११ का वडाध्यक्ष प्रेम कर्माचार्यले वडा विकासमा आफ्नो पहलकदमी रहिरहेन र प्रदेश सरकारसँग समन्वय गर्दै अगाडि बढ्ने बताए ।
कार्यक्रममा धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष भरतराज शाक्यले समितिले बुद्ध मण्डला निर्माणमा ढिलाई नगर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा स्वागत मन्तव्य प्रस्तुत गर्दै उपाध्यक्ष राज बहादुर गुरुङले माननीय मन्त्री विन्दु कुमार थापा तथा प्रदेश सरकारका मन्त्रिमण्डलका सदस्यहरुमा बजेट बिनियोजनमा खेलेको भुमिका प्रति धन्यवाद व्यक्त गरे ।
स्थानीय शिव केसी, वडा सदस्य रनसुबा गुरुङ लगायतले स्थानीय विकास तथा धर्मकाया बुद्ध मण्डलाको निर्माण पछि हुने लाभका बारेमा धारणा राखेका थिए ।
धारापानी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष कुमार क्षेत्री, पूर्व वडा सदस्य मीन बहादुर गुरुङले बोलेको कार्यक्रममा सचिव पूर्ण लामाले कार्यक्रमको संचालन गरेका थिए ।
करिब १७८ रोपनी क्षेत्रफलमा बिस्तार हुने बुद्द मण्डलालाई प्रदेश गौरबको आयोजनाको रुपमा सरकारको निती तथा योजनामा मार्फत घोषणा गरिएको छ । समितीले सरकारको निति र कानुनी जटिलतालाई सहजिकरण गर्दै नयां स्केच र डिपिआर तयारी गर्न लागिरहेको धर्मकाया बुद्द मण्डला बिकास समितीका उपाध्यक्ष राज बहादुर गुरुङले जानकारी दिएका छन् ।

Advertisment