नवौं राष्ट्रिय खेलकुदमा भूमिका खोज्दै लोकतान्त्रिक खेलकुद, अनुभवी र अग्रज खेलाडी समेटन कांग्रेसले पहल गर्ने – सभापती शर्मा

पोखरा, १८ साउन । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माले अग्रज, पुर्ब खेलाडी र नेपाल लोकतान्त्रिक खेलकुद संघले उठाएका जायज माग र समस्या सम्बोधन गराउन पहल गर्ने बताएका छन ।
लोकतान्त्रिक खेलकुद संघ गण्डकी प्रदेश समितीले आयोजना गरेको अग्रज खेलाडीहरु संग भेटघाट तथा अन्तर्कृया पछि प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै सभापती शर्माले आसन्न नवौं राष्ट्रिय खेलकुदमा प्रदेशका अग्रज पुर्ब खेलाडीहरुको अनुभव र भूमिकाका विषयमा प्रदेश समितिले पहल थालनी गरिने समेत दृढता ब्यक्त गरेका छन ।
सम्बन्धित निकायमा पुगेरै पुराना अनुभवी खेलाडीबाट आज आएका सुझाबको पक्षमा उभिएर दवाब दिने उनले जानकारी दिए । यसका लागि एउटा टिम बनाएर मुख्यमन्त्री, प्रधानमन्त्री सामु पुग्ने सभापती शर्माले बचनबद्दता ब्यक्त गरेका छन । पछिल्लो समय कांग्रेलले खेलकुद बुझिसकेकाले लोकतान्त्रिक खेलकुदलाई पार्टीको भातृ संगठनको मान्यता दिएको र अब संघ गाउँका वडा वडामा संगठन विस्तारतर्फ लाग्नुपर्नेमा उनको जोड थियो ।
लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचनले नवौं राष्ट्रिय खेलकुदमा सबैले छोडेको सुरक्षा र अनुसन्धान उपसमितिमा आफूहरुलाई राख्न खोजेको बताए । गण्डकी प्रदेशमा हुने खेलमा सबै उपसमितिको सदस्यमा अट्नुपर्ने आफूहरुको माग रहेको उनले सुनाए । खेलकुद भनेपछि पछिल्ला समय भ्रष्टाचार बढि हुने क्षेत्रका रुपमा चिनिएकाले करिब १ अर्ब खर्च हुने प्रतियोगितामा सबै खेलाडीले पाउनुपर्ने सुविधा पाउँन भनेर संघले पहल गरिरहेको उनको भनाई थियो । ‘राखेपबाट सुरुमा हामीलाई सुरक्षा र अनुसन्धान उपसमितिमा व्यवस्थापन हुनुप¥यो भन्नुभएको थियो, त्यो त सबैले छोडेको उपसमिति रहेछ हामीले हुदैन भन्यौं पछि सहसंयोजक राख्ने मौखिक सममती भएको छ,’ उनले भने, ‘राष्ट्रिय खेलकुदका लागि ५४ करोड त रातो किताब मै छुट्टिएको छ । सबै गरेर एक अर्ब खर्च हुन्छ त्यसबाट खेलाडीले पाउनुपर्ने सुविधा पाउनुपनर्छ भनेर हामी लागेका छौं ।’

बक्सिङका पूर्व खेलाडी तथा पर्यटन व्यावसायी गणेशबहादुर भट्टराइले नवौं राष्ट्रिय गौरवको प्रतियोगिता भएकाले सफल बनाउन लाग्नुपर्ने बताए । राष्ट्रिय खेलकुद परिषद्ले पोखरामा हुने प्रतियोगितामा प्रदेशकै पूर्व खेलाडीहरुको अनुभवका आधारमा काम गर्नुपर्नेमा जोड दिंदै प्रदेशभरका पूर्व खेलाडी तथा खेल संघसंस्थालाई कुनै न कुनै भूमिका दिनुपर्ने उनको भनाई थियो ।
एक फरक प्रसंगमा भट्टराइले संघ नेपाली कांग्रेसको भातृ संठगन भइसकेकाले मैदानमा स्वतन्त्र भएपनि मैदान बाहिर पार्टीलाई हित हुने कार्य गर्नुपर्नेमा जोड दिए । २०४६ सालको आन्दोलन पछि नेपाली कांग्रेसले खेल क्षेत्रको नेतृत्व लिन नचाहेकै कारण पछिल्लो समय खेल क्षेत्रमा भ्रष्टचार व्यस्त भएको उनको जिकिर थियो । कम्युनिष्टहरुले आफ्नो सरकार भएको समय क्षेत्रमा आफ्नो प्रभूत्व जमाएको र उनीहरुले अनियमितता गरेको उनको भनाई थियो । ती अनियमितालाई चिर्नका लागि पनि लोकतान्त्र र प्रजातन्त्रमा आस्था राख्ने खेलाडीहरु एकजुट हुनु जरुरी रहेको उनको जिकिर छ ।

कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघक केन्द्रीय सदस्य रञ्जन थापाले देश संघीय संरचनामा गएपनि खेलका संघ संस्थाहरु त्यही अनुसार चल्न नसकेको बताए । प्रदेशको राजधानी हुने प्रतियोगितामा प्रदेशको एक जनालाई मात्र समेटेर उपसमितिको संयोजक तोकेकाले अझै खेलकुदमा केन्द्रीकृत मानसिकता हाबी भएको उनको भनाई थियो ।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देलले तयारी सुरु भएको समाचारमा मात्र पढेको, सुनेको बताए । आफू जिल्ला क्रिकेट संघको अध्यक्ष भएपनि अहिलेसम्म कुनै भूमिका नपाएको उनको गुनासो थियो । यसका लागि लोकतान्त्रिक खेलकुद संघले पहल गर्नुपर्ने उनको धारणा छ । भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तथा पूर्व भलिबल खेलाडी हरी पराजुलीले राष्ट्रिय खेलकुद हुँदा मुल आयोजक कमिटीमा गण्डकीको सहभागीता कम हुनु लज्जाको विषय भएको बताए । प्रदेशमा हुने प्रतियोगितामा भूमिका पाए पनि नपाएपनि सहयोग गर्ने उनको प्रतिवद्धता छ तर खेल क्षेत्रमा हुने भ्रष्टचार र बदमासीका विरुद्ध आवाज उठाउन नछोड्ने उनले बताए ।

नेपाल आर्चरी संघका केन्द्रीय उपाध्यक्ष बसन्त थकालीले खेलकुद क्षेत्रमा लोकतन्त्रमा आस्था राख्ने खेलाडीको गुनासो र समस्या सुन्नका लागि कांग्रेस पार्टीले नेतृत्व लिनुपर्नेमा जोड दिए ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य जयराम हमाल, नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीका अध्यक्ष हरिश्वर पोखरेलले आगामी असोजमा हुने राष्ट्रिय खेलकुदमा प्रदेशको अपनत्व हुने वातावरण बनाउन पहल गर्ने बताए ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीका अध्यक्ष नविन पुनले राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशको भूमिका खोज्न तल्लिन हुने धारणा व्यक्त गरे । पोखरामा हुने प्रतियोगिताका लागि गठन गरिएको मुल आयोजक समितिमा पोखराकै खेल क्षेत्रका व्याक्ति समेट्नु पर्नेमा त्यसो नहुनु केन्द्रीकृत मानसिकताको पराकाष्ट भएको उनको भनाई थियो । नेपाल लोकतान्त्रिक खेलकुद संघ पार्टीको भातृसंगठन भइसकेकाले पनि विगतमा के भन्दा पनि आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेमा अग्रजको सल्लाह अनुसार अघि बढ्नुपर्नेमा उनको जोड थियो ।
लोकतान्त्रिक खेलकुद संघ गण्डकीका अध्यक्ष हरिश्वर पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको नेपाली कांग्रेस गण्डकी प्रदेशका मुख्य सचिब प्रकाश बरालले सन्चालन गरेका थिए ।

Advertisment