गुरुङ सोसाईटी अमेरिका बाट पोखरामा ५ जना पच्यु खेगी दिक्षित

पोखरा, १३ असोज
युनाइटेड गुरुङ सोसाईटी अफ अमेरिकाले तमुहरुको मौलिक खेगी प्रशिक्षित गर्ने अभियान अन्र्तगत जुम भच्र्युअल मार्फत अमेरिकामा तिनवर्ष अघिदेखि प्रशिक्षण लिइरहनुभएका ५ जना पच्यु खेगीहरुलाई पोखरामा दिक्षित गरेको छ।
पच्यु खेगी दीक्षान्त कार्यक्रम आयोजना गरी प्रशिक्षक एवम पच्यु चिवा नुनबहादुर गुरुङले नर प्ल्हे तमु, दल ल्हेगे तमु, पदमलाल तमु, शान्त क्रोम्छे तमु र भिम पच्यु तमुलाई सपथ ग्रहण गराउदै दिक्षित गराउनुभएको हो।यसरी नै कार्यक्रमका प्रमुख अतिथि योजना आयोगका पुर्व सदस्य डा. गणेश गुरुङ, युनाइटेड गुरुङ सोसाईटी अफ अमेरिकाका अध्यक्ष प्रदिप कोने तमु, पच्यु खेगी प्रशिक्षक पविन्द्र तमु लगायतले दिक्षित पच्यु खेगीहरुलाई रिप, फेटा, माला, प्रमाणपत्रबाट सम्मान गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि डा.गणेश गुरुङले पच्यु खेगीहरुलाई बधाई एवम शुभकामना व्यक्त गर्नुहुदै तमुहरुको मौलिकता संरक्षण, जागृत गर्ने कार्य र पच्यु खेगी उत्पादन गर्ने ऐतिहासिक कार्यका लागि युजिएसएको प्रसंशा गर्नुभयो। नेपालमै रहेका तमु र तमु संघ संस्थाले गर्न नसकेको अभियान सामाजिक सञ्जालको उपयोग गर्दै नेपालबाटै पच्यु चिवाहरुबाट प्रशिक्षण प्राप्त गरी खेगी उत्पादन हुनु तमुहरुको इतिहासमा युजिएसएले अत्यन्तै उदाहरणीय कार्य गरेको भन्दै सबैको साथ सहयोग हुनुपर्ने बताउनुभयो।
कार्यक्रममा युजिएसएका अध्यक्ष प्रदिप कोने तमुले संस्थाको स्थापनाको ऐतिहासिकता, उद्धेश्य, गर्दै आएको गतिविधी र आगामी योजनाबारे प्रष्ट पार्नुहुदै तमु जातिको मौलिकता संरक्षण र विकासका लागि सबै तमुहरु जुट्न आग्रह समेत गर्नुभयो।
युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाकाद्धारा आयोजित र गुरुङ साहित्यिक मञ्च नेपालको व्यवस्थापनमा भएको कार्यक्रममा पच्यु चिवा नुनबहादुर तमु, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तमु प्ये ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी गुरुङ, बौद्ध अर्घौ सदनका उपाध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङ, तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्रबहादुर गुरुङ, गुरुङ फिल्म एशोसियसन नेपालका अध्यक्ष गुञ्जबहादुर गुरुङ, तमु(गुरुङ) कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङ, गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी गुरुङ, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद कास्कीकी कार्यवाहक अध्यक्ष सिता गुरुङ, तमु सञ्चारकर्मी संघ कास्कीकी अध्यक्ष शान्ति गुरुङ, जुरे भुमि तप्रे तमु समाजका अध्यक्ष मोहन प्रसाद गुरुङ लगायतले युजिएसएको अत्यन्तै उदाहरणीय कार्यको प्रसंशा गर्दै दिक्षित पच्यु खेगीहरुलाई बधाई र शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा दिक्षित पच्यु खेगी नर ल्हे तमुले मन्तव्य व्यक्त गर्नुहुदै आफुहरुलाई प्रशिक्षित गर्ने गुरुहरु, सहयोग एवम सद्भाव राख्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुहुदै गुरुहरुबाट सिकेका ज्ञान तमु संस्कार, सँस्कृति, धर्म संरक्षण र विकासका लागि इमान्दारीपुर्वक जुट्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा तमु कलाका संघ गण्डकीका कलाकारहरु लगायतले साँस्कृतिक प्रस्तुति गरिएको थियो भने सहयोगी र आमन्त्रित संघ संस्थालाई युजिएसएको तर्फबाट धन्यवाद व्यक्त गर्दै कदर पत्रले सम्मान गरिएको थियो।
युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष प्रदिप कोनेको अध्यक्षतामा भएको कार्यक्रममा प्रवक्ता टेक टंगी लम तमुले स्वागत र रोधी कार्यक्रम संचालक बालकाशी गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।
गत तिनवर्षदेखि बुटवलका पच्यु चिवा नुनबहादुर तमु र पविन्द्र तमुले अमेरिकामा रहनु भएका प्रशिक्षार्थीहरुलाई जुम भर्चुअल मार्फत प्रशिक्षित गराउनुभएको थियो भने उहाँहरुले हाल जन्म, न्वारन, विवाह लगायत पुजाआजा अर्थात सुकर्मका ज्ञान हासिल गर्नुभएको बताइएको छ। यसरी नै क्ल्हेप्री खेगीहरुका लागि समेत प्रशिक्षण जारी रहेको र आगामी वर्षमा दिक्षित गरिने साथै बोन्पो लम प्रशिक्षण समेत सञ्चालन गरिने युजिएसएका अध्यक्ष प्रदिप कोने जानकारी दिनुभयो।
यसै बिच गुरुङ साहित्यिक मञ्चले युजिएसएका अध्यक्ष गजलकार प्रदिप कोनेको एकल गजल बाचन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा गजलकार प्रदिप कोनेले करिब एकदर्जन गजल प्रस्तुत गर्नुभएको थियो।

Advertisment