संकटबाट बचाउन मन्त्रीदेखि प्रधानमन्त्रीसम्म पोखरेलीको हारगुहार, अन्तर्राष्ट्रिय उडान थाल्न समेत माग

२७ चैत, पोखरा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनवरी १ मा भव्य रुपमा उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे पोखराका व्यवसायीले ध्यानाकर्षण गराएका छन् । आन्तरिक उडानमात्र हुने अन्तर्राष्ट्रिय विमानस्थल हुन पुगेको भन्दै व्यवसायीले सोमबार प्रधानमन्त्रीलाई भेटेर तत्काल कुटनीतिक पहल थाल्न आग्रह गरेका हुन् ।
पोखरा पर्यटन परिषदको नेतृत्वमा पोखराका व्यवसायीहरुले अहिलेको वित्तीय संकटबाट बचाउन, पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्न, पृथ्वीराजमार्ग निर्माण छिटो र व्यवस्थित बनाइदिन गुहार माग्दै मन्त्रीदेखि प्रधानमन्त्रीसम्म पुगेका छन् ।
पोखरेली व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डा. प्रकाशशरण महत र पर्यटनमन्त्री सुदन किरातीलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् भने अहिलेको संकटबाट मोचन गराउन नीतिगत पहल थाल्न पनि माग गरेका छन् ।
व्यवसायीले प्रधानमन्त्रीलाई भेटेर कर्जा तिर्ने समयसीमा बढाउँदै पुनर्तालिकीकरण र पुनर्कर्जा पाउने व्यवस्था गर्न व्यवसायीले आग्रह गरे । बैंक व्याजदर एक अंकमा झार्नुपर्ने र बर्जा तिर्ने समय सीमा बढाइदिनुपर्ने उनीहरुको माग थियो । बैंक तथा वित्तीय संस्थाले पर्यटनमा अनिवार्य लगानी गर्नुपर्ने साविककै नीतिलाई ब्युँत्याउन पनि व्यवसायीले प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठको नेतृत्वमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई ज्ञापनपत्र बुझाउँदै चैतमसान्तसम्म किस्ता र ब्याज तिर्न नसक्ने बताएका छन् । जवाफमा प्रधानमन्त्री दाहालले व्याजदर एक अंकमा झार्न कसरत गरिरहेको बताए । अहिले ब्याजदर र किस्ताको विषय गम्भीर समस्या बनेकाले सुधारमा निम्ति निरन्तर बैठक बसिरहेको दाहालले बताए । ऋण लिएपछि तिर्दिन भन्न नपाइने तर त्यसका लागि सरकारले सहज वातावरण भने बनाइदिने उनको भनाइ थियो ।
अर्थमन्त्री डा. प्रकाशशरण र पर्यटनमन्त्री सुदनले अहिले सरकार वित्तीय संकटप्रति गम्भीर रहेको र चाँडै केही न केही निर्णय आउने बताए । प्रधानमन्त्री प्रचण्डले त ब्यवसायीले तिर्ने कर्जाको पुनर्तालिकीकरण छिट्टै गर्ने पनि प्रतिवद्धता जनाएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका निम्ति भारत र चीन भ्रमणको प्रमुख एजेण्डा नै रहेको प्रचण्डले बताएका छन् । प्रचण्डले भू–उपयोग नीति अनुसार जग्गा वर्गीकरण नगरी पुरानै स्थितिमा कित्ताकाट खुला गर्ने तयारी भइरहेको बताए ।
पर्यटन मन्त्री सुदन किरातीले आफू अहिले व्यवसायीले खेपेको मारप्रति चिन्तित र जानकार रहेको बताए । अर्थमन्त्रीसँग अहिलेको संकटका विषयमा आजमात्रै पनि छलफल भएको किरातीको भनाइ थियो ।
नेपाल एयरलाइन्स पूर्ण व्यावसाायिक बनाई आन्तरिक र अन्तराष्ट्रिय उडानहरु सञ्चालन गर्न अवश्यक जहाजहरू खरिद गर्न व्यवसायीले प्रधानमन्त्रीसँग आग्रह गरे । कम्तिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि नेपाल एयरलाइन्सको जहाज उडानको व्यवस्थासहित हवाइ सञ्जाल बिस्तार गर्न व्यवसायीले ध्यानाकर्षण गराएका छन् ।
नेपाल पर्यटन बोर्डको प्रशासनिक एवं व्यवस्थापकीय सुधार गरी पर्यटकीय संघ सस्थाका संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्न माग गरे । स्थलमार्ग हुँदै नेपाल भित्रिने पर्यटकहरुलाई सहज र मुख्य सहरसम्मको यात्रा सुविधाका लागि राजमार्गहरुको सुधार गर्नुपर्ने र पृथ्वी राजमार्गको पुनर्निर्माणलाई छिटो तथा व्यवस्थित बनाई दिन पनि प्रधानमन्त्री दाहालसँग आग्रह गरे ।
नेपाल पर्यटन बोर्डको वजेट नितान्त पर्यटन प्रवद्र्धनका लागि मात्रै विनियोजन र खर्च गर्न व्यवसायीले माग गरेका छन् । मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीलाई टिम्स र गाइड व्यवस्था अनिवार्य नगर्न प्रधानमन्त्रीलाई अनुृरोध गरे । पदयात्रामा मात्रै गाइड र सहयोगी अनिवार्य गर्न र मोटर गाडी जाने ठाउँमा यो नियम व्यवहारिक नहुने व्यवसायीको भनाइ थियो ।
साहासिक पर्यटनको मुख्य गन्तव्य पोखराको प्याराग्लाइडिङलाई अन्तर्राष्ट्रिय उडान असर नगर्ने गरी पूर्ववत स्थापित गर्नुपर्ने पनि व्यवसायीले बताए । पोखराको रत्न मन्दिर, हिमा गृहजस्ता सम्पदा मन्त्री फेरिएपिच्चे खुला गर्ने भनेर चर्चा कमाउने तर नखोल्ने गरिएकोमा ध्यानाकर्षण गराउँदै अब सधैं खुला गर्ने व्यवस्था मिलाउन व्यवसायीले प्रधानमन्त्री र मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

Advertisment