नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको विरोधमा राष्ट्रिय सभा बैठक अवरुद्ध

जेठ २१ गते । नेकपा (एमाले) ले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको विरोधमा राष्ट्रिय सभाको आजको बैठक अवरुद्ध पारेको छ । बैठक सुरु हुनेवित्तिकै एमालेका सांसदहरूले राष्ट्रपतिद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयकबारे आपत्ति जनाउँदै उठेर अवरोध गर्नुभएको थियो ।

एमाले सांसद भैरव सुन्दर श्रेष्ठले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएको भन्दै सच्याउनुपर्ने माग गर्नुभयो । “राष्ट्रपतिले नागरिकता विधेयकलाई प्रमाणीकरण गर्नुभएको छ, वंशजको आधारमा नागरिकता पाउनुपर्छ भन्ने विषयमा एमाले प्रष्ट छ, तर संसदलाई छलेर मन्त्रिपरिषद्को निर्णयबाट प्रमाणीकरणका निम्ति राष्ट्रपति समक्ष पठाउने काम आपत्तिजनक, गैर लोकतान्त्रिक र गैर संवैधानिक छ” उहाँले भन्नुभयो ।

उहाँले प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्तिप्रति असहमति जनाउँदै एमालेका सांसदहरूले जवाफसमेत माग गर्नुभएको छ । एमालेका सांसदहरूले अवरोध गरेपछि बैठक २९ मिनेटका लागि स्थगित गरिएको छ । रासस

Advertisment