सातौँ प्रधानमन्त्री कप भलिबल : पुलिस र हेल्प नेपाल विजयी

काठमाडौं, असार २८ गते । विभागीय टोली नेपाल पुलिस क्लब र टिप टप हेल्प नेपालले सातौँ एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ बिहीबार सफलता हात पारेका छन् ।

राखेप कभर्डहलमा जारी लिगमा पुलिसले साबिक विजेता त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले आर्मीमाथि २५–२१, २८–२६, २५–१५ को जित निकालेको हो । जितसँगै पुलिसले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

अर्को खेलमा हेल्प नेपालले विभागीय टोली एपिएफ क्लबलाई ३–२ को सेटमा हरायो । हेल्प नेपालले पहिलो र दोस्रो सेट २७–२५, २७–२५ ले गुमाएको थियो । त्यसपछि खेलमा फर्किएको एपिएफले तेस्रो सेट २५–२१ र चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । अन्तिम तथा निर्णायक सेटमा हेल्प नेपाल १६–१४ ले अगाडि रह्यो । जितसँगै हेल्प नेपालले पनि फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

यस्तै महिलातर्फ समूह चरणको अन्तिम खेलमा एपीएफले न्यु डायमन्ड स्पोर्ट्स एकेडेमीलाई ३–० को सोझो सेटमा हरायो । एपिएफले २५–१९, २५–१८, २५–१२ को सहज जित निकालेको हो ।

असार ३० गतेसम्म चल्ने लिगमा पुरुषतर्फ साबिक विजेता आर्मी, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब, शैलुङ्ग बागढुङ्गा स्पोर्टस् क्लब रामेछाप र दावाँली मिलन क्लब काठमाडौं गरी सात टोलीको सहभागिता रहेको छ ।

महिलातर्फ नेपाल पुलिस क्लब, होङ्गवाङ्गजी न्यू डायमन्ड यूथ स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब  बुटवल र गण्डकी प्रदेश भलिबल सङ्घ गरी ६ टोलीले भाग लिएका छन् ।

लिगको च्याम्पियन टोलीले आगामी डिसेम्बरमा नेपालमा आयोजना हुने पुरुष क्लब च्याम्पियनसिपमा भाग लिन पाउनेछ । यस्तै विजेता टोलीले ६ लाख, उपविजेताले तीन लाख, तेस्रो हुनेले एक लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार रुपियाँ पुरस्कार पाउने सङ्घले जनाएको छ ।

पुरुष तथा महिलातर्फ सर्वोत्कृष्ट खेलाडीलाई जनही ३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकलाई जनही १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने सङ्घले जनाएको छ ।

Advertisment