सहकारीमा ६५ अर्ब ठगी, बचतकर्ता धर्नामा

साउन १, काठमाडौ । देशभरका झन्डै १४ हजार सहकारीका बचतकर्ता आफूले बचत गरेको रकम फिर्ता हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् । सहकारीपीडित बचतकर्ता महासङ्घको अगुवाइमा सहकारीबाट पीडित नागरिक आन्दोलनमा होमिएका हुन् ।

सहकारीपीडित बचतकर्ता महासङ्घका संयोजक हरिशचन्द्र श्रेष्ठ र संरक्षक कुशलव केसीले देशभरिका ३२ हजार सहकारीमध्ये १४ हजार सहकारीबाट ठगिएका ७३ लाख नागरिकका पक्षमा आन्दोलन थालेको बताउनुभयो ।

संयोजक श्रेष्ठले भन्नुभयो, “अहिलेसम्म देशैभर ७३ लाख नागरिकको ६५ अर्ब रुपियाँभन्दा बढी रकम सहकारी सञ्चालकले ठगेको तथ्याङ्क छ । त्यसको ब्याज जोड्नै बाँकी छ । यी सबै नागरिकले न्याय पाउनु पर्छ भनेर हामी आन्दोलनमा होमिएका हौँ ।”

उहाँले सहकारी दर्ता गर्ने, जनता ठगी गर्ने, विदेशमा पैसा पठाउने जस्ता कार्यमा संलग्न सहकारी सञ्चालकलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।

संरक्षक केसीले ४५ दिनदेखि धर्नामा रहे पनि सरकारका तर्फबाट समस्या समाधानको प्रस्ताव नआएको बताउनुभयो ।

Advertisment