लक्ष्मी सनराइज बैङ्कको एकीकृत कारोबार सुरु

काठमाडौँ । लक्ष्मी बैङ्क लिमिटेड र सनराइज बैङ्क लिमिटेडले ‘लक्ष्मी सनराइज बैङ्क लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । लक्ष्मी र सनराइजले १:१ अनुपातमा मर्जर भई संयुक्त कारोबार थालेका हुन् ।

मर्जरमा जानका लागि गत जेठ ८ गते अन्तिम सम्झौता गरेका दुवै बैङ्कको गत असार ३ गते सम्पन्न साधारण सभाले मर्जरमा जाने विशेष प्रस्ताव पारित गरेको थियो । मर्जरका लागि नेपाल राष्ट्र बैङ्कले असार २२ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । हाल लक्ष्मी बैङ्कको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपियाँभन्दा बढी छ भने सनराइज बैङ्कको १० अर्ब ११ करोड रुपियाँभन्दा बढी छ । दुई बैङ्क एक भएपछि चुक्ता पुँजी २१ अर्ब ६६ करोड रुपियाँभन्दा बढी कायम हुने बताइएको छ ।

मर्जरपछि बैङ्कको जगेडा कोष १२ अर्ब ८२ करोड, निक्षेप सङ्कलन दुई खर्ब ८७ अर्ब र कर्जा लगानी दुई खर्ब ५९ अर्ब रुपियाँ बढी पुगेको छ ।

मर्जरपछि बनेको बैङ्कको अध्यक्षमा हाल लक्ष्मी बैङ्कका अध्यक्ष रमण नेपाल रहनुभएको छ । बैङ्कमा लक्ष्मी बैङ्कका तर्फबाट चार जना र सनराइज बैङ्कका तर्फबाट तीन जना सञ्चालक चयन हुनुभएको छ । लक्ष्मी बैङ्कबाट डा. मनिष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक चयन हुनुभएको छ । यस्तै सनराइज बैङ्कका अध्यक्ष मोतीलाल दुगडसहित इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड, लक्ष्मी सनराइज बैङ्कको सञ्चालक चयन हुनुभएको छ ।

बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी बैङ्कका सिइओ अजय विक्रम शाहले निरन्तरता पाउनुभएको छ । मर्जरपछि शाखा सङ्ख्या २८४ पुगेको छ भने बैङ्कको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौँमा रहेको छ ।

Advertisment