१८ वर्ष पछि स्याङजाको मनकामनामा महोत्सव हुदै

धनु गुरुङ,
स्याङजा, १ कार्तिक,

स्याङ्जाको बिरुवा गाँउपालिका वडानम्बर ७ मा अवस्थित मनकामना मन्दिर परिसरमा यस वर्ष महोत्सव हुने भएको छ ।

बडादशैं पछिको असोज शुक्लापुर्णिमाका दिन वर्षेनी भव्य पुजाआजा तथा मेला हुदै आएकोमा यसवर्ष भने महोत्सव नै आयोजना गर्न लागिएको हो । “दोस्रो मनकमना महोत्सव सफल पारौँ , धार्मिक, साँस्कृतिक, पर्यटन तथा खेलकुद विकासमा टेवा पु¥याऔँ” भन्ने मुल नाराका साथ मनकामना मन्दिरमा यहि कार्तिक ९ देखी ११ गतेसम्म दोस्रो पटक महोत्सव हुन लागेको हो । विंस २०६२ सालमा पहिलो पटक महोत्सव आयोजना गरिए पनि यस बिचमा विभिन्न राजनितिक घट्नाक्रम र भुकम्प, कोरोना प्रकोप लगायतका कारण निरन्तरता दिन सकेन तर यस वर्ष स्थानीय कै सक्रियतामा दोस्रो पटक महोत्सव आयोजना गर्न लागिएको हो । यस वर्ष महोत्सव आयोजना गर्न बिरुवा गाँउपालिका ७ का वडा अध्यक्ष मेखराज गुरुङको संयोजकत्वमा १०१ सदस्यीय मुल आयोजक समिति गठन गरिनुका साथै विभिन्न १२ वटा उपसमिति बनाएर तयारी तिव्रा पारेको छ ।

तिन दिन सम्म चल्ने महोत्सवमा युवाहरुका लाग छेलो फाल्ने, डोरी तान्ने, म्युजिकल चियर लगायत खेलकुद आयोजना गरिने प्रचारप्रसार उपसमिति सदस्य रिम गुरुङले जानकारी दिनुभयो । महोत्सवमा स्थानिय कला सस्कृति, कृषि उत्पादनको प्रदर्शनी, हस्तकला प्रदर्शनी तथा शैक्षिक प्रदर्शनीका साथै स्थानिय तथा राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको सांङ्गितिक तथा हाँस्यव्याङग्य प्रस्तुति मुख्य आकर्षकका रुपमा रहने आयोजकले जनाएको छ ।

त्यसैगरी महोत्सवमा प्रथम होम बहादुर राना कप वडास्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता पनि आयोजना गरिएको छ । भलिबल तर्फ बिजेताले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ, उपविजेताले ७१ हजार एक सय ११ र तृत्तिय र सान्त्वना हुनेले क्रमशः ४१ हजार एक सय ११ र २१ हजार एक सय रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसैगरी विभिन्न विधामा उत्कृष्ट खेलाडिहरुले नगद ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेलकुद उपसमितिका सहसंयोजक भक्तराज गुरुङ्ले जानकारी दिनुभयो । विंस १९८५ मा सपाउँदे भोर्लेका खड्क बहादुर गुरुङले स्थापना गरेको यस मन्दिरमा प्रत्येक महिनाको पुर्णिमाका दिन पुजाआज हुदै आएको छ ।

स्याङ्जा जिल्लाको शक्तीपिठहरु मध्ये एक यस मन्दिरमा पुजा गर्नका लागि देशका विभिन्न ठाँउबाट भक्तजनहरु आउने गर्दछन् । माहिली र साहिली मनकामना देवीका दुई मन्दिर अहिले पुर्ननिर्माणको चरणमा छ । करिब सात करोड ६२ लाखको गुरुयोजना बनाई अहिले पुर्ननिर्माण भईरहेको र मुख्य मन्दिरको पुर्ननिर्माण कार्य अन्तिम चरणमा पुगेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका संयोजक गुरुङले बताउनुभयो । मन्दिरलाइ अझ व्यवस्थित गर्नको लागी यो महोत्सबले टेवा पुर्याउने उनको विश्वास छ । समुद्री सतह देखि १४ सय ८० मिटर उचाई मा रहेको यस मन्दिरमा जानका लागि सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङजाको राम्बाच्छाबाट करिब १४ किलोमिटरको सवारी यात्रा गर्नुपर्ने हुन्छ ।

 

Advertisment