१२ औँ पोखरा महोत्सवलाई विभिन्न संघ संस्थाले सघाउने

पौष २१, पोखरा,

१२ औँ संस्करणको पोखरा महोत्सवलाई सफल बनाउन पोखरामा क्रियाशिल विभिन्न संघ संस्थाहरुले सघाउने भएका छन् ।

महोत्सवको सुरुवातीदेखीनै पोखराका संघ संस्थाहरुले सहयोग गर्दै आइरहेकोमा बाह्रौं संस्करणको पोखरा महोत्सवलाई पनि विगतका महोत्सवहरुलाई जस्तै पोखराका संघ संस्थाहरुले झांकी र्याली सहभागी गराउने भएका हुन । शनिवार पोखरा महोत्सव स्थल अमरसिंह खेल मैदानमा संघ संस्था समन्वय तथा झांकी र्याली ब्यवस्थापन उपसमिति द्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले बाह्रौं संस्करणको पोखरा महोत्सवको उद्घाटन पुर्व पोखरा रंगशालाबाट शुरु हुने झांकी र्यालीमा सहभागी हुने प्रतिवद्धता जनाएका छन ।

अन्तरक्रिया कार्यक्रममा वोल्दै जनकल्याण तमु समाजका सचिव यज्ञ बहादुर गुरुङले पोखरा महोत्सव सम्पूर्ण पोखरेलीको महोत्सव भएकाले महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि आफ्नो संस्था प्रतिवद्ध रहेको वताए । पोखरा महोत्सवले विशुद्ध सामाजिक कामलाई अगाडी वढाउने भएकाले आफ्नो संस्थाबाट झांकी सहित महोत्वमा उपस्थिती रहने उनको भनाइ रहेको थियो । त्यस्तै नेपाल मगर संघ रामबजार मगर समाजका अध्यक्ष सुधा थापा मगरले बाह्रौं संस्करणको पोखरा महोत्सवलाई विगतमा जस्तै आफ्नो संस्थाबाट समेत झांकी सहभागी गराउने प्रतिवद्धता जनाउदै पोखरा महोत्सवको सफलताको कामना गरे । महोत्सव यहि पौष २६ देखि माघ ८ गते सम्म हुदैछ ।

सो अवसरमा वोल्दै युनाइटेड क्लबका अध्यक्ष तथा बाह्रौं पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक राजु श्रेष्ठले बाह्रौ संस्करणको पोखरा महोत्सवलाई बिगतका महोत्सवमा जस्तै सम्पूर्ण संघ संस्थाको साथ र सहयोग रहनेमा आफुहरु विश्वस्त रहेको वताए । युनाइटेड क्लबले आयोजना गर्ने महोत्सव विशुद्ध सामाजिक कामका लागि भएकाले सम्पूर्णको साथ र सहयोगलेनै पोखरा महोत्सव बाह्रौं संस्करण सम्म आइपुगेको उनको भनाइ रहेको थियो । सो अवसरमा उद्गम टोल बिकास संस्थाका हर्क बहादुर गुरुङ, पोखरा १३ का बृहष्पति शर्मा, बलाराम ढुंगाना लगायतले महोत्सवको सफलताको शुभकामना सहित आ आफ्नो धारणा राखेका थिए ।

बाह्रौं पोखरा महोत्सव संघ संस्था समन्वय संयोजक सुक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको सञ्चालन महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले गरेका थिएभने कार्यक्रममा झांकी र्याली ब्यवस्थापन उपसमिति संयोजक विष्णु कुमार गुरुङले स्वागत मन्तब्य राखेका थिए ।

 

Advertisment