जनप्रिय मावि २०४९ समुहद्वारा विद्यालयलाई शैक्षिक सामग्री सहयोग

माघ ७,पोखरा

पोखराको सिमलचौरस्थित जनप्रिय मावि २०४९ व्याजका भूपू विद्यार्थीको समुहले चापाकोट औसेलुचौरस्थित पञ्चकोसी आधारभूत विद्यालयलाई ५० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गरेको छ । समुहले कम्प्युटर सहित कापी, कलम, झोला लगायत सामग्री सहयोग गरेको हो । समुहका अध्यक्ष चन्द्र गिरीले विद्यालयका पूर्व शिक्षक कुलप्रसाद अधिकारी, व्यवस्थापन समितिका पूर्व अध्यक्ष यज्ञप्रसाद तिमिल्सीना लगायतलाई एक समारोहका विच उक्त सामग्री हस्तान्तरण गरे ।

सो अवसरमा बोल्दै अध्यक्ष गिरीले बिपन्न अवस्थामा रहेका विद्यालय तथा विद्यार्थीहरुलाई शैक्षिक सहयोग गर्ने उद्येश्यका साथ समुहको गठन गरिएको बताए । यसअघि पनि समुहले शैक्षिक सामग्री सहयोग कार्यक्रम गर्दै आएको उनले जनाए ।

विद्यालयका प्रधानाध्यापक गंगाधर चापागाईले समुहको यो सहयोग विद्यालय र विद्यार्थीका लागि ठूलो सहयोग भएको बताउँदै धन्यवाद ज्ञापन गरे । भूपू विद्यार्थी समुहको तर्फबाट समुहका सदस्यहरु टिकाराम पराजुली, अनिल कार्की, केशबबहादुर थापा, लगायतले समुहका गतिविधीबारे प्रकास पारेका थिए । विद्यालयका शिक्षिका दिलमाया तिमिल्सीनाले स्वागत मन्तव्य राखेकि थिइन् ।

 

Advertisment